काठमाडौं- जारी टी ट्वेन्टी विश्वकपअन्तर्गत आज परस्पर प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो १:४५ बाट सुरु हुनेछ ।
तर आजको खेल वर्षाले प्रभावित हुनसक्ने बढी सम्भावना रहेको छ। आज पानी पर्ने सम्भावना ९० प्रतिशत रहेको छ । आज भारत र पाकिस्तानबीच प्रतिष्ठाको लडाइँ हुनेछ । विश्वकप प्रतियोगितामा आजसम्म पाकिस्तानले एक पटक मात्र भारतलाई जितेको छ । पाकिस्तानले यो सङ्ख्या बढाउन चाहन्छ । भारत भने गत वर्ष विश्वकपको आफ्नो पहिलो खेलमा व्यहोरेको १० विकेटको लज्जास्पद हारको बदला लिन चाहन्छ ।
भारतको लागि आज शाहीन अफ्रिदी, मोहम्मद रिजवान, बाबर आजम र मोहम्मद नवाज चुनौती सावित हुनसक्छन् । यस्तै पाकिस्तानको लागि विराट कोहली, मोहम्मद शामी, के एल राहुल र रोहित शर्मा टाउको दुखाइ बन्नसक्छन् ।
केही महिनाअघिको एसिया कपको समूह चरणको खेलमा भारतले पाकिस्तानलाई हराएको थियो भने सुपर ४ मा पाकिस्तानले भारतलाई हराएको थियो । यसले पनि यी दुई टोलीबीच को बलियो भन्ने ठोस आधार नभएको पुष्टि गर्छ ।