×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निर्वाचनमा सुरक्षा चुनौती : प्रतिस्पर्धी दलबाट नै खतरा

निर्वाचनमा सुरक्षा चुनौती : प्रतिस्पर्धी दलबाट नै खतरा

काठमाडौँ- आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गृह मन्त्रालय पूर्वसुरक्षा तयारीमा जुटेको छ । विगतका निर्वाचनमा जस्तो चुनाव विरोधी गतिविधि कमजोर बन्दै गएको भए पनि प्रतिस्पर्धी राजनीतिक दलबीच हुन सक्ने विवाद र झडपले सुरक्षामा चुनौती बन्न सक्ने आकलन गरिएको छ ।

गृह मन्त्रालयले चारवटै सुरक्षा निकायलाई सोहीअनुसारको पूर्वतयारी तथा सतर्कता अपनाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता, सहसचिव फणीन्द्रमणि पोखरेलले निर्वाचन सुरक्षामा कुनै कसर बाँकी नराखी सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी पूर्वतयारी अपनाउन सुरक्षा निकायलाई निर्देशन दिएको बताए  उनले चुनावमा प्रतिस्पर्धा गरेका पार्टीका चुनावी सभा, -याली तथा घरदैलो कार्यक्रमसमेत एकै स्थान र एउटै समयमा नजुध्ने गरी सुरक्षा व्यवस्थापन मिलाउन परिपत्रसमेत गरिएको जानकारी दिए ।

पोखरेलले भने, “निर्वाचनमा आइपर्न सक्ने सुरक्षा चुनौतीको तत्काल समाधान गर्ने गरी तयारी भइरहेको छ ।” पोखरेलले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न चारवटै सुरक्षा निकायलाई एकीकृत रूपमा परिचालन गर्ने बताए ।  विगतमा निर्वाचन बहिष्कार गरी सशस्त्र विद्रोहमा रहेका कतिपय पार्टी र तीनका कार्यकर्ता यस पटकको निर्वाचनमा सहभागी भएका छन् । यसले विगतभन्दा यस पटक सुरक्षा चुनौतीसमेत कम देखिएको छ ।  यद्यपि गृह मन्त्रालयले निर्वाचनको सुरक्षामा कुनै त्रुटि हुन नदिन सुरक्षाका सम्पूर्ण पूर्वतयारी अपनाउन चारवटै सुरक्षा निकायलाई निर्देशनसमेत दिएको छ ।

उम्मेदवारको मनोनयन दर्तासँगै मुख्य निर्वाचन कार्यालयको सुरक्षा, आवश्यकताअनुसार उम्मेदवारको सुरक्षा तथा मतपत्रको छपाइ तथा ढुवानीमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन भइसकेका छन् ।  राष्ट्रिय अनुसन्धान विभागले निर्वाचन सुरक्षालगायतका महत्वपूर्ण सूचना सङ्कलन गर्न सुरु गरेको छ । निर्वाचन सुरक्षालाई थप सबल बनाउन तीनवटा सुरक्षा निकायबाट रिजर्भ फोर्ससमेत तयारी अवस्थामा राखिएको छ ।

प्रतिकृया दिनुहोस्