काठमाडौं - नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा स्थान बनाएको छ।
सोमबार भएको सुपर ३ अन्तर्गतको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ५ विकेटले पराजित गर्दै यो उपलब्धि हासिल गरेको हो।
यूएईले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कप्तान इन्दु बर्माले अविजित ३४ रनको योगदान दिइन् भने पूर्वकप्तान रुबिना क्षेत्रीले २३ रन जोडिन्।
त्यसअघि, पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११४ रन बनाएको थियो। यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन्। तीर्था सतिशले २१ तथा हीना होचन्दानीले २० रनको योगदान दिए।
बलिङतर्फ नेपालकी मनिषा उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिइन्। यस्तै, कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट हात पारे।
नेपालले अब मंगलबार थाइल्याण्डसँग खेल्ने तालिका छ।
यद्यपि, ग्लोबल छनोटमा स्थान पक्का भइसकेकाले उक्त खेलको नतिजाले नेपालको यात्रामा कुनै असर गर्ने छैन।