काठमाडौं - नायिका पुजा शर्माले आफ्नो नयाँ चलचित्र 'म यस्तो गीत गाउँछु २' हिट भएसँगै नयाँ प्रेमी सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा युद्ध बानियासँगका रोमान्टिक तस्वीरहरु सेयर गर्दै उनले प्रेमको स्वीकारोक्ति दिएकी हुन् ।
जानकारहरुका अनुसार करिब एक वर्षदेखि पुजाले युद्धसँगको प्रेमलाई युद्धस्तरमा अगाढि बढाइरहेकी छन् । कोरोनाका कारण चलचित्रका गतिविधिहरु न्युन भएकाले उनीहरुलाई प्रेम गर्न प्रशस्त समय मिलेको थियो । अब भने उनीहरु प्रेमलाई विवाहमा परिणत गर्ने योजना बुन्न थालेको बुझिएको छ ।
हेटौंडा निवासी व्यवसायी युद्ध फिटनेसमा रुची राख्छन् । फिटनेससँग सम्वन्धित सामानहरु विक्री गर्ने बटरबक्स नेपाल नामको कम्पनी छ उनको । उनी यदाकदा मोडलिङमा पनि देखिने गरेका थिए ।
युद्धभन्दा अघि नायक आकाश श्रेष्ठसँग चर्चा चलेको थियो । प्रेमी बानियाँसँग भने पुजाले विवाह नै गर्ने सोचेको निकटस्थको भनाइ छ । उनीहरुबीच चाँडै ईंगेजमेन्ट हुन सक्ने बताइएको छ । यद्यपि, दुवैले यस विषयमा बोलेका छैनन् ।
तस्वीर सेयर गर्ने क्रममा पुजाले ‘यु आर द वान’ भन्दै युद्धलाई प्रेमीका रुपमा चिनाएकी छन् । केही दिनअगाडि पनि उनले आपूmलाई कठिन समयमा साथ दिएको भन्दै युद्धप्रति आभार व्यक्त गरेकी थिइन् ।
युद्ध र पुजाको प्रेमका विषयमा केही महिना अगाडिदेखि गसिप सुरु भएको थियो । तर, पुजाले स्वीकारेकी थिइनन् । आफ्नो जीवनमा कोही पुरुष आएको तर समय आएपछि मात्रै सार्वजनिक गर्ने उनले बताउदै आएकी थिइन्।