काठमाडाैँ- त्रिदेशीय टी–ट्वान्टी क्रिकेट शृंखलामा बिहीबार नेपालले विस्फोटक ब्याटिङ गरेको छ । पहिलो खेल खेलिरहेका नेपालका मोहम्मद आदिल आलमले विस्फोट ब्याटिङ गरेपछि नेपालले २०३ रनको विशाल स्कोर बनाएको हो ।
टस हारेपछि पपुवा न्युगिनीले नेपाललाई पहिला ब्याटिङको निम्तो दिएको थियो । नेपालले ७ विकेटमा २०३ रन बनायो । आदिलले ११ बलमा विस्फोटक ३१ रन बनाए । उनले ३ छक्का प्रहार गरेका थिए ।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ बलमा ६६ रन बनाए । उनले चार छक्का प्रहार गरेका थिए । यस्तै रोहित पौडेले २३ बलमा ४१ रन बनाए । आसिफ शेखले ३८ र कुशल भुर्तेलले १७ रनको योगदान दिए ।
२०४ रनकाे लक्ष्य पाएकाे पपुवा न्युगिनीले केही समयपछि जवाफी ब्याटिङ गर्नेछ । जारी शृंखलामा दुई खेल जितिसकेको नेपाल यो खेलमा विजयी भए फाइनलमा पुग्नेछ । प्रतियोगितामा अर्को टिम मलेसिया सहभागी छ ।