काठमाडौं - गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन अध्यागमन प्रमुख, सहसचिव तीर्थराज भट्टराईलाई आफूले सरुवा गरेर गृह मन्त्रालयमा नल्याएको स्पष्ट पार्नुभएको छ।
बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले भट्टराई २०७७ सालदेखि नै निरन्तर गृह मन्त्रालय मातहत कार्यरत रहेको बताउनुभयो।
"भट्टराईजी २०७७ सालदेखि नै गृह मन्त्रालय मातहतमा कार्यरत हुनुहुन्थ्यो। मैले उहाँलाई अन्त कतैबाट सरुवा गरेर ल्याई जिम्मेवारी दिएको होइन," मन्त्री लेखकले भन्नुभयो, "मैले दिएको जिम्मेवारीभन्दा पहिले नै उहाँले विभिन्न महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हालिसक्नुभएको थियो। उहाँलाई अचानक सरुवा गरेर गृह मन्त्रालयमा ल्याइएको पनि होइन।"
गृहमन्त्री लेखकले भट्टराईले यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी सम्हालिसकेपछि मात्र अध्यागमन विभागको प्रमुखको रूपमा काम गर्न जानुभएको तथ्य पनि उल्लेख गर्नुभयो।