×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रेम आचार्यले उठाउनुभएका सबै मागमा तुरुन्तै छानबिन गर्छु : गृहमन्त्री

प्रेम आचार्यले उठाउनुभएका सबै मागमा तुरुन्तै छानबिन गर्छु : गृहमन्त्री

काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर सहानुभूति प्रकट गरेका छन्।

मङ्गलवार संसद भवनअगाडि नयाँ बानेश्वरमा आत्मदाह गरेका उनका परिवारलाई भेट्न बुधबार कीर्तिपुर अस्पताल पुगेका उनले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता कुराहरूबाट वाक्क भएर केही गर्न राजनीतिमा प्रवेश गरेको बताए।

उनले अहिले चलिरहेको राजनीति र प्रशासनिक कुराहरूमा सहभागी बन्न आफू नआएको जिकिर गर्दै देशलाई केही गरौँ भन्ने मनसायबाट आएको बताए। गृहमन्त्री लामिछानेले मृतक आचार्यले उठाएका मागका बारेमा यथेष्ट छानबिन गर्ने प्रतिबद्धता जनाए। उनले आफूबाट भएका कमी कमजोरी पनि नियाल्ने र बाँकी कुरामा आफू गम्भीर भएर लाग्ने बताए।

‘अहिले दुःखको बेला, अहिले धेरै भन्ने पक्षमा म पनि छैन, यही कुराहरूबाट दिक्क भएर नै केही गर्नुपर्छ भनेर म राजनीतिमा आएको हुँ, नयाँ छु, समय लाग्न सक्छ, उहाँले भन्नुभएको सबै चिजमा म तुरुन्त छानबिन गर्नेछु। हामीबाट भएका कमी कमजोरी पनि हामी हेर्नेछौँ, हामीले छानबिन गर्ने विषयमा छानबिन गर्नेछौँ। म गम्भीर भएर काम गर्नेछु, म भएकै काममा भाग बन्न आएको होइन,’ गृहमन्त्री लामिछानेले भने।

मृतककी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षा सुनिश्चित गर्न, आफूलाई सक्ने रोजगारी दिन र श्रीमानले लिएको आर्थिक ऋण सरकारबाट तिरिदिन आग्रह गरिन्। उनले देशमै केही गरौँ भन्ने मान्छेलाई भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण मर्नुपरेको बताइन्।

उनले भनिन्, ‘उहाँले देशका लागि केही गरौँ भनेर गरौँ भन्नुभयो, तर अब बच्चाहरूको भविष्य के हुने होरु मैले कसरी गर्ने, मेरो छोरीहरूको भविष्य, पढाइ सुनिश्चित गरियोस्, मैले सक्ने रोजगारी पनि दिनु, म यो आर्थिक भार उहाँले तिर्ने कतितिर छ यो सक्दिनँ राज्यले यसमा सहयोग गरोस्। यो भ्रष्टाचारी देश भएर मेरो मान्छेको ज्यान गयो, एउटाले कृषिमा १५ पटक अनुदान पाउँदा हामीले भर्न नै कति लाख खर्च भएन।’

उनले कोहीले १५ पटक अनुदान पाउँदा आफूले भने फारम भर्नसमेत लाखौँ खर्च गर्नुपरेको बताइन्। गृहमन्त्रीले मृतकका आफन्तलाई भेटेसँगै आफन्तहरूले शव बुझेका छन्। मङ्गलवार आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका इलामका ३७ वर्षीय आचार्यको बुधबार बिहान उपचारका क्रममा कीर्तिपुरस्थित अस्पताल निधन भएको थियो।

प्रतिकृया दिनुहोस्