एजेन्सी - अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहमा पठाएको इन्ज्युनिटी हेलिकप्टरको पहिलो टेस्ट फ्लाइट सफल भएको छ। योसँगै पृथ्वीबाहेक अन्य ग्रहमा उड्ने पहिलो यान इन्ज्युनिटी बनेको हो। पृथ्वीबाट कमान्ड दिएर अन्य ग्रहमा मानवनिर्मित यान उडाइएको यो पहिलो हो। सोमबार नेपाली समय अनुसार अपराह्न ४ बजे इन्ज्युनिटीले मंगल ग्रहमा ३० सेकेन्डको उडान गरेको बीबीसीले जनाएको छ।
यो पृथ्वीबाट नियन्त्रण गरी अन्तरिक्षमा उडाइएको पहिलो एयरक्राफ्ट भएको नासाका अधिकारीहरुले दावी गरेका छन्। मंगल ग्रहमा रहेको एक उपग्रहले पृथ्वीमा सन्देश पठाएरसँगै यसको पुष्टि भएको थियो।
नासाले आगामी लिनमा थप उडान गर्ने हौसला मिलेको जनाएको छ। नासाका वैज्ञानिकहरुले आगामी दिनमा अझ बढी साहसिक उडानका लागि अनुसन्धान गर्ने बाटो खुलेको प्रतिक्रिया दिएका छन्। रोटर क्राफ्ट नामको उक्त हेलिकोप्टर गत फेब्रुअरीमा मंगलग्रहमा लगिएको समाचारमा जनाइएको छ।