काठमाडौं - सेयर बजारमा साताको पहिलो कारोबार दिन सामान्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.५७ अंकले घटेर २६७९ अंकमा झरेको हो।
बजार घट्नुका साथै कारोबार रकममा पनि संकुचन देखिएको छ। अघिल्लो दिन ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज त्यो घटेर ७ अर्ब ६० करोड रुपैयाँमा सीमित रह्यो।
आज कारोबारमा आएका कम्पनीहरूमध्ये ९९ वटाको मूल्य बढ्दा १४८ वटाको घट्यो भने एउटा कम्पनीको मूल्य स्थिर रह्यो।
अधिकांश उपसमूहहरू राताम्मे हुँदा माइक्रोफाइनान्स क्षेत्रमा भने लगानीकर्ताको आकर्षण कायमै रह्यो। यो उपसमूह २.३२ प्रतिशतले उकालो लाग्यो। त्यस्तै, व्यापार समूह पनि ०.१३ प्रतिशतले सामान्य बढ्न सफल भयो।
यी दुईबाहेक अन्य सबै उपसमूहहरू ओरालो लागे। बैंकिङ ०.६६%, विकास बैंक १.४६%, वित्त ०.९९%, होटल तथा पर्यटन १.७५%, जलविद्युत् ०.३६%, लगानी १.०३%, जीवन बीमा ०.३३%, उत्पादन ०.०३%, निर्जीवन बीमा ०.१०% र अन्य समूह ०.४५% ले घटेका छन्।
आज ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य सबैभन्दा धेरै, १० प्रतिशतले वृद्धि भयो। रिभर फल्स पावरको ७.५६%, लक्ष्मी लघुवित्तको ६.२८%, उन्नति सहकार्य लघुवित्तको ६.१६% र नेरुडे मिर्मिरे लघुवित्तको ५.८५% ले मूल्य बढेको छ।
अर्कोतर्फ, सिन्धु विकास बैंकको मूल्य सर्वाधिक ८.२८ प्रतिशतले घट्यो। बाराही हाइड्रोपावरको ६.७६% तथा सप्तकोशी विकास बैंकको ५.०७% ले मूल्य गुमाए।
कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, ङादी ग्रुप पावर, युनाइटेड मोदी हाइड्रोपावर र हिमालयन पावर पार्टनर क्रमशः शीर्ष स्थानमा रहे।