काठमाडौँ- आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाले जित निकालेको छ । उसले आज सम्पन्न खेलमा घरेलु टोली पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध ६१ रनको जित निकालेको हो ।
नामिबियाले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको घरेलु टोली पिएनजीले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५३ रन मात्र बनाउन सक्यो । उसका लागि लिगा सियाका सर्वाधिक ३८ रन बनाए । त्यस्तै, हिरी हिरीले २९,चाल्र्स अमिनीले २२,काबुआ मोरियाले अविजित १५ र चाड सोपेरले १० रन जोडे ।
नामिबियाका लागि गेहार्ड इरास्मसले तीत, जन फ्राइलिंक, टांगेनी लुंगामेनी र रुवेन ट्रम्पलम्यान दुई/दुई तथा बर्नार्ड स्कोल्ट्जले एक विकेट लिए । त्यसअघि अमिनी पार्कमा टस जितेर ब्याटिङ राजेको नामिबियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय १४ रन बनायो । उसका लागि कप्तान गेर्हार्ड इरास्मसले ७७ बलमा तीन चौकाका साथ ४९ रनको पारी खेले ।
जन निकोलले २५, लो ह्यान्डरी लोरेन्सले ३४, जेन ग्रीनले अविजित ३१, जन फ्राइलिंकले १४ र स्टेफन बार्डले १३ रनको योगदान दिए । पिएनजीका लागि काबुआ मोरिया र चाड सोपेरले दुई/दुई तथा कप्तान असाद भाला र नोसैना पोकनाले एक/एक विकेट लिँदा दुई विकेट रन आउटका रुपमा प्राप्त भयो ।
जितसँगै २२ खेलमा २६ अंकका साथ नामिबिया पाँचौं स्थानमा रहँदा पराजित पिएनजी २४ खेलबाट पाँच अंक जोडेर अन्तिममा छ । त्यस्तै, विश्वकप लिग–२ मा अहिलेसम्म २० खेल खेल्दा आठ जित र ११ हार र एक बराबरीको नतिजा निकालेको नेपाल १७ अंकका साथ छैटौं स्थानमा छ ।