काठमाडौं- साइकोलोजिकल थ्रिलर जनराको चलचित्र ‘द ब्ल्यू लाइट’ को शुभमुहूर्त सम्पन्न भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा पूजाआजा गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । शुभमुहूर्त कार्यक्रममा चलचित्रका कलाकार तथा प्राविधिकहरूको उपस्थिति रहेको थियो ।
चलचित्रको छायाङ्कन यही २२ गते बिहीबारबाट सुरु हुने जनाइएको छ । काठमाडौँ उपत्यकाका विभिन्न रमणीय स्थानहरूमा खिचिने यो चलचित्रको छायाङ्कन तालिका २० दिनको लागि तय गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।
‘द ब्ल्यू लाइट’ मार्फत बलिराम चौहानले निर्देशनमा डेब्यु गर्दैछन् । चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी लगायतका चर्चित कलाकारहरूको अभिनय रहनेछ ।
स्काइफल पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने यस चलचित्रका को–प्रोडुसर रमन ग्रे रहेका छन् । चलचित्रलाई नरेन्द्र मैनालीले आफ्नो क्यामेरामा कैद गर्नेछन् ।
निर्देशक चौहानले चलचित्रको कथावस्तुलाई हाल गोप्य राखिएको बताएका छन् । उनले भने, ‘हामी क्रमशः हाम्रा प्रचार सामग्रीमार्फत कथावस्तुबारे जानकारी दिँदै जानेछौँ । हामी यो जनरामा एक उत्कृष्ट र दर्शकले मन पराउने चलचित्र बनाउनेमा विश्वस्त छौँ ।’
निर्देशक चौहानका अनुसार ‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै दर्शकमाझ ल्याउने योजना रहेको छ ।