×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गठबन्धनमा सिट बाँडफाँटको विषय जटिल बन्दै, प्रेम आले भन्छन्– डोटीमा गठबन्धन नभए सबै ठाउँ हुँदैन

गठबन्धनमा सिट बाँडफाँटको विषय जटिल बन्दै, प्रेम आले भन्छन्– डोटीमा गठबन्धन नभए सबै ठाउँ हुँदैन

काठमाडौं- आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निवार्चनमा गठबन्धन गर्ने निर्णय गरेका सत्तारुढ दलहरुबीच भागबण्डाको बिषय पेचिलो बन्दै गएको छ । सबै दलहरुले धेरै सिटमा दाबी नछाडेपछि भागण्डा मिलाउन सकस परेको देखिएको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा केही लचिलो हुने पक्षमा देखिएपनि पार्टीभित्रकै प्रतिपक्ष (नेता शेखर कोइराला समूह)को धेरै सिट लिनुपर्छ भन्ने दबाबमा छन् । यसैगरी तल्लो तहका कतिपय समिति पनि धेरै सिट संख्यामा दाबी नछाड्नुपर्ने र दाबी गरिएजत्ति सिट नपाइए एक्लै लड्नुपर्ने पक्षमा छन् ।

कांग्रेस डोटीको केही दिनअघि एक्लै लड्ने निर्णय गरिसकेको छ । कांग्रेसको यो निर्णयले पूर्वमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले आक्रोशित भएका छन् । कांग्रेसमाथि आक्रोश पोख्दै उनले डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गर्नु नहुने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी)को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता आलेले डोटी जिल्लामा गठबन्धन चाहिँदैन भनेर भेला गर्दै हिँडेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले गठबन्धन गर्ने भएपनि ७७ वटै जिल्लामा हुनुपर्ने नभए कतै पनि गर्न नहुने बताए ।

नेता आलेले गत स्थानीय तह निर्वाचनमा आफूहरूले १० वटा वडामा मात्रै उम्मेदवार उठाएर ५५ वटा वडा छाडिएको भन्दै यसैको मतको आधारमा नेपाली कांग्रेसले आफूहरुको मत कम रहेको व्याख्या गरिरहेको बताए । उनले स्थानीय निर्वाचनको परिणामको आधारमा गठबन्धनबाट विद्रोहको प्रयास भइरहेको उल्लेख गर्दै त्यसप्रति आफूहरुको ध्यानाकर्षण भएको बताए ।

प्रतिकृया दिनुहोस्