काठमाडौँ - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा राष्ट्रिय परिचयपत्रको प्रयोगलाई थप कडाइ गरेको छ। राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै बैंक खातावालाहरूका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो।
नयाँ व्यवस्थाअनुसार राष्ट्रिय परिचयपत्र लिइसकेका बैंक खातावालाले २०८३ असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बैंकमा अद्यावधिक (अपडेट) गरिसक्नुपर्नेछ। यसका लागि बैंक तथा वित्तीय संस्थाहरूले २०८३ असोज मसान्तभित्रै आफ्ना ग्राहकसँग मोबाइल एप वा अन्य माध्यमबाट राष्ट्रिय परिचयपत्र भए/नभएको सम्बन्धमा स्व-घोषणा लिनुपर्नेछ।
त्यस्तै, नयाँ खाता खोल्ने सन्दर्भमा राष्ट्र बैंकले अझै कडा नीति लिएको छ। २०८१ माघ १ गतेदेखि नै लागू हुने गरी बैंकहरूले राष्ट्रिय परिचयपत्रको विद्युतीय प्रणालीमा रहेको विवरणका आधारमा परिचयपत्र नम्बर यकिन गरेर मात्र नयाँ खाता खोल्नुपर्ने व्यवस्था मिलाउनुपर्नेछ।
हालसम्म राष्ट्रिय परिचयपत्र नलिएका नेपाली नागरिकहरूका हकमा भने बैंकहरूले हरेक ६ महिनामा मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट परिचयपत्र लिएर ग्राहक पहिचान (केवाइसी) अद्यावधिक गर्न जानकारी गराइरहनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।