वीरगञ्ज- नक्कली मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका १६ का २३ वर्षीय अमिरी राउत कुर्मी पक्राउ परेका हुन् ।
बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट वीरगञ्ज आउँदै गरेका उनीहरुलाई बिहीबार राति चेकजाँच गर्ने क्रममा नक्कली मतपत्र र स्वस्तिक छाप फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट २ लाख ७२ हजार नगद पनि बरामद भएको सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।
करिब ३ सय जति नक्कली मतपत्रमा साइकल छापमा मत संकेत गरेको पाइएको छ । उनीहरु कुन निर्वाचन क्षेत्रको लागि नक्क्कली मतपत्र र रकम लिएर हिंडेका हुन् भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । नक्कली मतपत्र र नगद सहित उनीहरुलाई आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइएको छ ।