काठमाडौं - एभरेष्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा पहिलो पटक नेपाली नागरिकलाई नियुक्त गरेको छ । बैंकले आफ्नो अनवरत २५ वर्षे यात्रामा पहिलो पटक नेपाली नागरिक सुरेन्द्र खालिङलाई सिईओ नियुक्त गरेको हो ।
यसअघि बैंकको सिईओमा भारतीय नागरिकलाई मात्र बैंकले नियुक्ति दिँदै आएको थियो ।
हालसम्म बैंकले आफ्नो २० प्रतिशत सेयर साझेदारी रहेको भारतीय पञ्जाब नेशनल बैंकबाट प्रमुख कार्यकारी अधिकृत ल्याउँदै आएको थियो ।
पछिल्लो पटक बैंकको सिईओमा आएका भारतीय गजेन्द्रकुमार नेगीले खासै काम गर्न नसकेको भन्दै एभरेष्ट बैंक सञ्चालक समितिले नेगीलाई १७ महिनामै फिर्ता पठाउने निर्णय गरेको छ ।
४ बर्षका लागि नियुक्त भएका गजेन्द्रकुमार नेगी शुक्रबारसम्म बैंक नेतृत्वमा रहने बैंक स्रोतले जानकारी दिएको छ ।
यद्यपी प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको बारे बैंकले राष्ट्र बैंकलाई मौखिक जानकारी भने गराइसकेको छ ।