बागलुङ - अविरल वर्षासँगै खसेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध बनेको छ। शुक्रबार साँझदेखि परेको लगातारको वर्षाले बागलुङ नगरपालिका–१०, दब्ल्याङमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा बन्द भएको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले करिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधनहरू पूर्ण रूपमा ठप्प भएको जानकारी दिनुभयो। उहाँका अनुसार, मेसिन प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको छ।
सडक अवरुद्ध भएसँगै जिल्ला सदरमुकाम बागलुङ बजार र दक्षिण बागलुङबीचको सीधा यातायात सम्पर्क टुटेको छ। बागलुङ नगरपालिकाका विभिन्न वडा तथा जैमिनी नगरपालिकाका छिस्ती, जैदी, अर्जेवा, बिनामारे लगायतका स्थानबाट सदरमुकाम आउनेजाने सवारी साधनहरू पनि रोकिएका छन्।
त्यसैगरी, यस करिडोर हुँदै बुटवल, भैरहवा लगायतका स्थानतर्फ चल्ने सवारी साधनहरू पनि चल्न सकेका छैनन्। पहिरोले गर्दा प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने पर्यटकहरू समेत बाटोमै अलपत्र परेका छन्।