×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अज्ञात समूहद्वारा पाँच पसलमा आगजनी, लाखौँको क्षति

अज्ञात समूहद्वारा पाँच पसलमा आगजनी, लाखौँको क्षति

जलेश्वर- महोत्तरीको एकडारा गाउँपालिका-३ भटौलिया बजारमा गए राति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरेका छन् । उक्त घटनामा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मङ्गल साहको चिया पसलमा अज्ञात समूहले गए राति करिब ९ बजेको समयमा आगजनी गरेका छन् ।

आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकुँडा, ग्यास सिलिण्डर, चुल्हा र घरसमेत जलेर रु पाँच लाख बढीको क्षति भएको पसलेहरूले बताएका छन् । पसलमा रातिको बेला कोही नभएको अवस्थामा आगजनी गरिएको थियो । आगो नियन्त्रणमा लिन नसक्दा सबैथोक जलेर नष्ट भई लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । -रासस

 
 

प्रतिकृया दिनुहोस्