दाङ - दाङको तुलसीपुरमा दुई किशोरबीच भएको कुटाकुटमा एक जनाको ज्यान गएको छ। झगडामा घाइते भएका १५ वर्षीय विराज गिरीको उपचारका क्रममा बिहीबार बिहान पौने ३ बजे बाँकेको नेपालगन्जस्थित नर्सिङहोममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानामगरले जानकारी दिए।
रुकुम पश्चिमको बाफीकोट गाउँपालिका घर भएका गिरी अध्ययनका लागि दाङको तुलसीपुर उपमहानगरपालिका– ८ दुधेनामा डेरा गरी बस्दै आएका थिए।
प्रहरीका अनुसार जेठ १९ गते साँझ साढे ५ बजेतिर विद्यालयबाट घर फर्किँदै गरेका स्थानीय १५ वर्षीय यज्ञ वली र गिरीबीच तुलसीपुर – ९ बेलुवामा कुटाकुट भएको थियो।
प्रहरी हिरासतमा रहेका वलीले दिएको बयानअनुसार सुरुमा गिरीले आफूमाथि कुटपिट गरेका थिए र त्यसपछि आफूले गिरीलाई दुई मुक्का प्रहार गरेको बताएका छन्।
प्रहरी अनुसन्धानले देखाएअनुसार, कुटाकुटपछि उनीहरु दुवै जना सँगै नजिकैको स्कुलको क्यान्टिनमा गएर पानी पिएका थिए। पानी पिएलगत्तै गिरी एक्कासी ढलेका थिए।
मुक्का प्रहारबाट गिरीको टाउकोमा भित्री चोट लागेर अचेत भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज नर्सिङ होममा लगिएको थियो। त्यहाँ उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा बिहीबार बिहान उनको मृत्यु भएको हो।
मृतक गिरी र पक्राउ परेका वली दुवै श्री माध्यमिक विद्यालय दोघरेमा अध्ययनरत थिए। मृतक गिरीले रुकुममै परीक्षा दिएर पुनः अध्ययनका लागि दाङ आएका थिए, तर भर्ना भने भइसकेका थिएनन्।
गिरीलाई कुटपिट गर्ने यज्ञ वली हाल प्रहरी नियन्त्रणमा छन्। वली अहिले कक्षा ९ मा अध्ययनरत छन्।
प्रहरीका अनुसार उनीहरुबीच सामाजिक सञ्जाल फेसबुकमा एकअर्कालाई गालीगलौज भएको थियो। भेट हुँदा सोही विषयमा विवाद बढ्दै गएर कुटाकुटको अवस्था सिर्जना भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।