विश्वकै आकर्षक प्रशोधन केन्द्रको सूचीमा चीन पहिलो स्थानमा र भारत दोस्रो स्थानमा परेका छन् । अमेरिकाको सिकागोमा प्रधान कार्यालय रहेको रियलस्टेटसम्बन्धी व्यसायिक कम्पनी कुसम्यान एन्ड वेकफिल्डले सर्वेक्षण गरी जारी गरेको सूचीले यस्तो देखाएको हो । उक्त कम्पनीले युरापेली, अमेरिकी र एसिया प्रशान्त क्षेत्रकाका ४७ देशलाई समेटेर विश्वकै उत्कृष्ट प्रशोधन वातावरण भएको राष्ट्रको सूची तयार पारेको जनाएको छ । ‘ग्लोबल म्यानुफ्याक्चरिङ् रिस्क इन्डेक्स–२०२१’ नाम दिइएको उक्त सर्वेक्षण प्रतिवेदनअनुसार अमेरिकालाई उछिन्दै भारत विश्वकै दोस्रो उत्कृष्ट प्रशोधन केन्द्र बनेको छ ।
यसअघि चीन उक्त सूचीको पहिलो स्थानमै थियो भने भारत तेस्रो स्थानमा थियो । व्यापार तथा काम गर्ने वातावरण, श्रम सम्बन्ध, लागत प्रतिस्पर्धा, लगानी जाेखिम, बजारलगायतका क्षेत्रहरुको अवस्थाबारे अध्ययन गरेर कम्पनीले उक्त प्रतिवेदन बाहिर ल्याएको जनाएको छ ।
उक्त प्रतिवेदनअनुसार विश्वको सबैभन्दा आकर्षक प्रशोधन केन्द्रको सूचीमा क्यानडा चौथो, चेक गणतन्त्र पाँचौँ, इन्डोनेसिया छैटौँ, लिथुवानिया सातौँ, थाइल्याण्ड आठौँ, मलेसिया नवौँ र पोल्यान्ड दशौँ स्थानमा छन् ।
विश्वका अधिकांश उद्योगी तथा प्रशोधन उद्योगमा लगानी गर्ने लगानीकर्ताहरुले भारतलाई चयन गर्न थालेको प्रतिवेदनले उल्लेख गरेको छ ।
पछिल्लो १० महिनामा भारतमा कुल ५५ हजार ४ सय ९९ कम्पनी दर्ता भएको मध्ये प्रशोधन कम्पनीको हिस्सा २१ प्रतिशत अर्थात् ३ हजार २ सय १७ छन् ।