काठमाडौँ- निर्वाचन आयोग प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको आन्तरिक कसरतमा जुटिरहेकाे छ । आयोग दुवै निर्वाचन एकैदिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारीमा जुटेकाे हाे ।
संवैधानिक व्यवस्था बमोजिम आगामी मङ्सिर २२ गते अगावै प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन भइसक्नुपर्नेछ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाकाअनुसार आयोगले स्थानीय तह निर्वाचनमा देशका विभिन्न स्थानमा भएका घटनाको विश्लेषण गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैदिन एकै चरणमा गर्ने योजना बनाएको छ ।
एकै चरणमा गर्ने अवस्थामा कात्तिक ३० गते बुधबार गर्न सकिने अयोगको बुझाइ छ । ‘निर्वाचन एकै चरणमा गर्न आयोग तयार छ, हामी दुई चरणमा जाँदै जाँदैनौं, स्थानीय तहको निर्वाचनमा केही स्थानमा भएका घटनाको विश्लेषणपछि आयोग प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने भन्ने निष्कर्षमा पुगेको हो,’ प्रमुख आयुक्त थपलियाले भने, ‘हाम्रो आन्तरिक रूपमा दुई चरणमा निर्वाचन गर्दा २७ कात्तिक र ४ मंसिरको मितिबारे छलफल गरेको थियो तर, एकै चरणमा गर्ने अवस्थामा ३० कात्तिकमा नै गर्न सकिने गरी मिति प्रस्ताव गर्ने तयारी छ ।’
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा २०७४ साल मंसिर १० र २१ गते भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐनको आधारमा निवार्चित भएको अवधिबाट कार्यकाल पाँच वर्ष भनिएकाले आयोगले मंसिर २२ लाई कार्यकाल सकिने दिन भनेको छ । यसले गर्दा मंसिर १५ गतेभित्र निर्वाचन गराउन सरकारसमक्ष सिफारिस गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई छ ।
१० अर्ब रुपैयाँ बजेट लाग्ने
आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्न १० अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान गरेको छ । अघिल्लो निर्वाचनभन्दा ३ अर्ब बढी खर्च अनुमान गर्दै आयोगले गृहकार्य शुरु गरेको हो ।
२०७४ मङ्सिरमा दुई चरणमा भएको निर्वाचनमा आयोगले ७ अर्ब खर्च गरेको थियो । आयोग पदाधिकारीहरूको केही दिनअघि बसेको अनौपचारिक बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्च, मितिसहितको प्रस्ताव तयार पारेको हो । निर्वाचन प्रस्तावलाई अन्तिम रूप दिँदै सरकारसँग बजेटसहितका अन्य सहयोग माग गर्ने तयारी थालेको आयोगले बताएको छ ।