नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि जनाउँदै सत्ता गठबन्धनको सहयात्रा चुनावसम्म हुनेमा प्रश्न उठाएका छन् । पार्टी सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बनेको अढाइ महिना कटीसक्दा समेत सरकारलाई पूर्णता दिन नसकेकोले गठबन्धनको आयु समेत यसले निर्धारण गरिरहेको बताउँदै निधिले यस्तो प्रश्न उठाएका हुन् ।
उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरूसँग माग समेत गरेका छन् ।
गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ८१ दिन बित्दासमेत सरकारले पूर्णता नपाएकोमा दुःखसमेत व्यक्त गर्दै छिटो सरकालाई पूर्णता दिन आग्रह गरेका हुन् ।
उपसभापति निधिले भने, ‘मन्त्रीमण्डलले अझै पूर्णता नपाउनू भनेको सारै चिन्ता र दुःखको विषय हो । नेपाली काँग्रेसको लागि पनि र गठबन्धन दलहरूको लागि पनि । यो नेपाली काँग्रेस र सरकारमा सहभागी दलहरूको लागि मात्रै होइन पुरै नेपालको लागि यो चिन्ता र दुःखको विषय हो कि आजको मितिसम्म पनि सरकारले पूर्णता पाउन नसक्नू । त्यस कारणले अब नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र गठबन्धन दलका सबै दलका नेता र पदाधिकारीहरूसँग म के अनुरोध गर्न चाहन्छु भने अव धेरै ढिला भयो । अब धेरै पर्खन सकिँदैन ।’