टोकियो । जापानको टोकियोस्थित सोलमारी मुरा हल सिन ओकुबोमा निउरे समाज जापानको प्रथम अधिवेशन भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। निउरे समाज जापानका अध्यक्ष रुद्रमणि निउरेको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनमा जापानका विभिन्न क्षेत्रबाट उल्लेखनीय संख्यामा निउरे समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रवासमा रहेका निउरे समुदायबीच आपसी एकता, भाइचारा, सहयोग र सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ स्थापना भएको निउरे समाज जापानको यस प्रथम अधिवेशनले समाजको भावी कार्यदिशा तय गर्नुका साथै सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका निवर्तमान अध्यक्ष तथा निउरे समाज जापानको विधान तयारी समितिका सदस्य नवीन निउरेको गरिमामय उपस्थिति रहेको थियो। विशेष अतिथिका रूपमा नेपालबाट भ्रमणका क्रममा जापान आउनुभएका टिकाराम निउरे तथा सीता देवी निउरे सहभागी हुनुहुन्थ्यो । विशिष्ट अतिथिका रूपमा नवलपुर समाज जापानका सल्लाहकार मेघराज सापकोटाको पनि उपस्थिति रहेको थियो।
त्यसैगरी निउरे समाज जापानका प्रमुख सल्लाहकार तथा समाजका परिकल्पनाकार खिमानन्द निउरे, समाजका परिकल्पनाकार तथा निर्वाचन समिति संयोजक डिलाराम निउरे, सल्लाहकार चित्रप्रसाद निउरे, खिमबहादुर निउरे (ठाना), नेपाल कल्याण समाज जापानका अध्यक्ष विष्णु शर्मा निउरे, समाजसेवी प्रकाश निउरे, समाजका संस्थापक सदस्य डण्डपानी निउरे तथा वरिष्ठ उपाध्यक्ष देवेन्द्र निउरे लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन खिम निउरेले गर्नुभएको थियो भने स्वागत मन्तव्य बाबुराम निउरेले व्यक्त गर्नुभएको थियो। उहाँले प्रवासमा रहेका निउरे समुदायलाई एउटै साझा चौतारीमा आबद्ध गर्दै आपसी सद्भाव, सहकार्य, सांस्कृतिक पहिचानको संरक्षण तथा सामाजिक सहयोगमा समाजले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो। कार्यक्रममा समाजको आर्थिक प्रतिवेदन कोषाध्यक्ष दयाराम निउरेले प्रस्तुत गर्नुभयो।
त्यसैगरी सचिव मनप्रसाद निउरेले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै समाज स्थापना भएयता सम्पन्न भएका गतिविधि, सदस्य विस्तार, संस्थागत विकास तथा आगामी कार्ययोजनाबारे जानकारी गराउनुभयो। प्रमुख अतिथि नवीन निउरेले शुभकामना मन्तव्य व्यक्त गर्दै आफू पनि निउरे समाज जापानको सदस्य हुन पाएकोमा खुसी लागेको बताउनुभयो। उहाँले प्रवासमा रहेर पनि निउरे समुदाय यति संगठित, उत्साहित र एकताबद्ध भएको देख्दा गौरव लागेको उल्लेख गर्दै आगामी दिनमा पनि समाजलाई आफ्नो निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। अधिवेशनको अन्तिम सत्रले खिमानन्द निउरेको अध्यक्षतामा सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमिति
त्यसैगरी अधिवेशनले संरक्षक तथा सल्लाहकार समिति समेत गठन गरेको छ। समितिको संरक्षकमा निवर्तमान अध्यक्ष रुद्रमणि निउरे तथा डिलाराम निउरे चयन हुनुभएको छ। सल्लाहकार समिति संयोजकमा देवेन्द्र निउरे चयन हुनुभएको छ भने सल्लाहकारहरूमा नवीन निउरे, खिमबहादुर निउरे (ठाना), चित्रप्रसाद निउरे, नरबहादुर निउरे तथा उमेश निउरे चयन हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष खिमानन्द निउरेले सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गर्दै आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई इमानदारी, पारदर्शिता र समन्वयका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले समाजलाई सबै सदस्यको साझा संस्थाका रूपमा विकास गर्दै सामाजिक एकता, पारस्परिक सहयोग, सांस्कृतिक संरक्षण, युवा सहभागिता, महिला सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो। कार्यक्रमको समापनका अवसरमा आयोजकले प्रमुख अतिथि, विशेष तथा विशिष्ट अतिथिहरू, संरक्षक, सल्लाहकार, अग्रज व्यक्तित्व, विभिन्न क्षेत्रबाट उपस्थित सम्पूर्ण निउरे समुदाय, सहयोगी, शुभेच्छुक तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
जापानको अत्यन्त व्यस्त जीवनशैलीका बाबजुद पनि आफ्नो बहुमूल्य समय निकालेर उपस्थित भई कार्यक्रमलाई सफल बनाउन साथ दिनुहुने सबैप्रति समाजले उच्च सम्मान व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ, सहयोग, एकता र सद्भाव कायम रहने विश्वास व्यक्त गरेको छ। अधिवेशनले प्रवासमा रहेका निउरे समुदायलाई अझ संगठित, सक्रिय र एकताबद्ध बनाउँदै समाजलाई नयाँ उचाइमा पुर्याउने दृढ संकल्पका साथ सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।