काठमाडौं - भक्तपुरको नगरकोट जाने सडकखण्डमा ओभरटेक गरेको विषयलाई लिएर दुई जना भ्लगरमाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका वडा नम्बर ६, नगरकोटका ४१ वर्षीय गणेश बहादुर तामाङ रहेका छन्। ओभरटेक गर्ने क्रममा विवाद हुँदा तामाङले भ्लगरहरूलाई बाटोमै रोकेर अपशब्द प्रयोग गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार, भिडियोकै आधारमा खोजी गरिएका तामाङलाई बिहीबार भक्तपुरबाट नियन्त्रणमा लिइएको हो। घटनाबारे थप कानुनी प्रक्रिया र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।