काठमाडौं - विश्वकप २०२६ को उपाधि स्पेनले जितेसँगै प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई व्यक्तिगत अवार्ड प्रदान गरिएको छ। विश्व च्याम्पियन स्पेनका कप्तान रोड्री अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका किलियन एम्बाप्पेलाई पछि पार्दै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भई 'गोल्डेन बल' विजेता बनेका छन्। मेस्सीले सिल्भर बल र एम्बाप्पेले ब्रोन्ज बल प्राप्त गरे।
त्यस्तै, फ्रान्सका कप्तान किलियन एम्बाप्पेले प्रतियोगिताभर सानदार १० गोल गर्दै 'गोल्डेन बुट' अवार्ड जितेका छन्। यो जितसँगै उनी विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै नयाँ इतिहास रच्न सफल भएका छन्।
स्पेनका गोलकिपर उनाई सिमोनले प्रतियोगिताका ८ खेलमध्ये ७ खेलमा क्लिनसिट राख्दै उत्कृष्ट गोलरक्षकको 'गोल्डेन ग्लोभ्स' अवार्ड हात पारे भने स्पेनकै १९ वर्षीय डिफेन्डर पाउ कुबार्सी प्रतियोगिताको 'उत्कृष्ट युवा खेलाडी' घोषित भए। सोमबार बिहान भएको रोमान्चक फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि चुमेको थियो।