×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

गलकोट समाज जापानको उदाहरणीय काम : तिजको टिकटदेखि सहयोग अभियानसम्म, रसुवाका लागि ७ लाख

गलकोट समाज जापानको उदाहरणीय काम : तिजको टिकटदेखि सहयोग अभियानसम्म, रसुवाका लागि ७ लाख

दिनेश थापा । गलकोट समाज जापान टोकियो समितीद्वारा रसुवा बाढीपीडितका लागि ७ लाख रुपैयाँ सहयोग गरिएको छ । प्रवासमा रहेर पनि मातृभूमिमा आइपर्ने विपत्ति र मानवीय संकटमा सहयोग गर्दै आएको गलकोट समाज जापान क्षेत्रीय समिती टोकियोले पुर्व घोषणा गरिए अनुसार रसुवा बाढीपीडितका लागि  तिज सांगीतिक उत्सव २०२६ को टिकट बिक्रीबाट संकलित ५ लाख रुपैयाँ र यसैगरी, गलकोट समाज जापानद्वारा सञ्चालन गरिएको सहयोग अभियानमार्फत थप २ लाख रुपैयाँ संकलन गरि सांगीतिक कार्यक्रम र सहयोग अभियानबाट प्राप्त रकम जोडेर रसुवा बाढीपीडितका लागि कुल ७ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप कोषमा आधिकारिक रेमिट मार्फत पठाइएको छ। 

गलकोट समाज जापान, टोकियो क्षेत्रीय समितिका अध्यक्ष ईश्वर बस्नेतका अनुसार, प्रवासमा रहेर पनि मातृभूमिमा परेको विपत्तिमा सहयोग गर्नु संस्थाको सामाजिक तथा मानवीय दायित्व हो। रसुवा जिल्लामा प्राकृतिक विपत्तिका कारण प्रभावित भएका परिवारलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग रकम उपलब्ध गराइएको हो। संस्थाले आगामी दिनमा पनि मातृभूमिमा आइपर्ने प्राकृतिक विपत्ति तथा अन्य सामाजिक आवश्यकतामा सहयोग गर्दै मानवीय सेवाका क्षेत्रमा आफ्नो सक्रियता निरन्तर अघि बढाउने प्रतिबद्धता अध्यक्ष बस्नेतले जनाए। 

गलकोट समाज जापान क्षेत्रीय समिती टोकियोले विगत लामो समयदेखि नेपाली कला, संस्कृति र परम्पराको संरक्षणसँगै सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। यसपटकको तिज सांगीतिक उत्सवले सांस्कृतिक एकताको सन्देशसँगै विपत्तिमा परेका नेपालीलाई सहयोग गर्ने मानवीय भावना पनि प्रस्तुत गरेको समाजका सचिव चतुर्भुज सापकोटाले बताए। तिज सांस्कृतिक कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यअनुरूप आयोजना गरिएको  सांगीतिक उत्सवमा सहभागी दर्शक, टिकट खरिद गर्ने व्यक्ति, कलाकार, सहयोगदाता तथा शुभेच्छुकहरूको योगदानले विपत्तिमा परेका नेपालीलाई सहयोग गर्न सम्भव भएको सचिव सापकोटको भनाइ छ।

त्यसैगरी, समाजका कोषाध्यक्ष मिठु थापाले संकलित रकमलाई सामाजिक उत्तरदायित्वको भावनासहित पीडितको राहतका लागि उपयोग गरिएको जानकारी दिए। सहयोग अभियानमा साथ दिने सम्पूर्ण व्यक्ति तथा शुभेच्छुकहरूप्रति उनले आभार व्यक्त गरे।

प्रवासमा रहेर पनि मातृभूमिप्रतिको जिम्मेवारी निर्वाह गर्दै गरिएको यस सहयोगले रसुवा बाढीपीडित परिवारलाई राहत पुग्ने क्षेत्रीय समिती टोकियोले विश्वास लिइएको छ। 

प्रतिकृया दिनुहोस्