काठमाडौं - नेपाल क्रिकेट संघ (CAN) को बोर्ड सदस्यमा नियुक्त भएको ९ दिनमै रास्वपा नेतृ गुञ्जन शाह ठकुरी पदबाट हटाइएकी छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनसँगै राष्ट्रिय खेलकुद परिषद् (Rato) ले बुधबारदेखि लागू हुने गरी उनलाई क्यानको बोर्ड सदस्यबाट फिर्ता बोलाएको हो।
गत असोज १९ गते राखेपको सदस्यसचिवस्तरीय निर्णयबाट क्यानको बोर्डमा मनोनीत भएकी शाहको नियुक्तिलगत्तै खेल क्षेत्र र चौतर्फी आलोचना सुरु भएको थियो। क्रिकेटको नीतिगत ज्ञान, व्यवस्थापकीय अनुभव र विशेषज्ञता नभएकी व्यक्तिलाई नियमनकारी निकायमा पठाइएको भन्दै उनको योग्यतामाथि प्रश्न उठाइएको थियो। जेन-जी आन्दोलनकी सक्रिय नेतृ तथा पूर्वमन्त्री गौरी यादवको स्वकीय सचिवसमेत भइसकेकी शाहको नियुक्ति १० दिनमै खारेज भएपछि यसले सरकारको निर्णय प्रक्रियामाथि समेत बहस सिर्जना गरेको छ।