टोकियो । नेपाली भाषा–साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा जापानमा भव्य “भानु उत्सव २०८३” आयोजना हुने भएको छ। नेपाली भाषा, साहित्य र संस्कृतिप्रति आस्था राख्ने स्रष्टा, पाठक तथा साहित्यप्रेमीहरूलाई एकै थलोमा जुटाउने उद्देश्यसहित कार्यक्रम आगामी १२ जुलाई २०२६ मा टोकियोको सिन(ओकुबोस्थित सोलमारी मुरा हल मा आयोजना गरिने भएको हो।
कार्यक्रममा भानुभक्तका रचनाहरूको वाचन, खुला रचना वाचन, पुस्तक विमोचन तथा विशेष उद्घाटन सत्र रहने आयोजकले जनाएको छ। साहित्यिक सिर्जना, विचार र भावनाहरू आदान–प्रदान गर्ने यो अवसरले जापानमा रहेका नेपाली साहित्यप्रेमीहरूलाई थप नजिक ल्याउने विश्वास गरिएको छ।
विदेशी भूमिमा नेपाली भाषा र साहित्यको ज्योति बलिरहँदा, भानुभक्तको योगदानलाई सम्झने मात्र होइन, नयाँ पुस्तालाई नेपाली भाषासँग जोड्ने अभियानका रूपमा पनि यो कार्यक्रमलाई हेरिएको छ। साहित्यका माध्यमबाट नेपालीपनलाई जीवित राख्ने प्रयासमा भानु उत्सव एउटा महत्वपूर्ण पर्व बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको आयोजना अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टर र तनहुँ समाज जापान ले संयुक्त रूपमा गर्ने भएका छन्। आयोजकले जापानका विभिन्न क्षेत्रबाट साहित्यकार, कवि, लेखक, पत्रकार, विद्यार्थी तथा सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई नेपाली भाषा र साहित्यप्रतिको प्रेम अभिव्यक्त गर्न आग्रह गरेका छन् ।