काठमाडौं - नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत वर्षाका कारण ५ ओभरमा छोट्याइएको खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोएल्सलाई ३५ रनले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आन्द्रे रसेलको उत्कृष्ट अलराउन्ड प्रदर्शनप्रेरित विराटनगरले ३ खेलबाट पहिलो २ अङ्क जोड्न सफल भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले शेहान जयासूर्याको ३९ रन र आन्द्रे रसेलको अविजित २९ रनको मद्दतमा निर्धारित ५ ओभरमा २ विकेट गुमाएर १०५ रनको विशाल योगफल तयार पारेको थियो। जवाफमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ५ ओभरमा २ विकेट गुमाउँदै ७० रनमा समेटियो। विराटनगरका लागि रसेलले २ ओभरमा मात्र ८ रन खर्चेर १ विकेट लिनुका साथै १ क्याचसमेत लिए। मैदान गिलो भएका कारण अन्योल र विवादका बीच ढिला गरी सुरु भएको खेलमा विराटनगरले आक्रामक सुरुवात गर्दै जित हात पारेको हो।