टोकियो । लामो समयदेखि प्रतीक्षारत नेपाली जनसम्पर्क समिति जापान (नेजसस) को सातौँ अधिवेशन हुने भएको छ । आगामी जुलाई ५ तारिख आईतबार टोकियोको सिबुयास्थित चुबाकी गार्डेनमा अधिवेशन हुने तय भएको हो । अधिवेशनको मिति तय भएसँगै संगठनभित्र उत्साह र राजनीतिक गतिविधि बढेको छ ।
लामो अन्तरालपछि हुन लागेको अधिवेशनले संगठनलाई थप सशक्त, गतिशील तथा लोकतान्त्रिक मूल्य - मान्यताप्रति प्रतिबद्ध बनाउने विश्वास लिइएको नेजसस जापानका महामन्त्री रामजंग कार्कीले जानकारी दिनुभएको छ । जापानमा रहेका नेपाली समुदाय बिच आपसी एकता, सहकार्य र लोकतान्त्रिक चेतनाको पवद्र्धनमा समेत अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। अधिवेशनका लागी नेपाली जनसम्पर्क समिति जापानका पूर्व संयोजक भूपिगोबिन्द श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिलाई निष्पक्ष, पारदर्शी र लोकतान्त्रिक ढंगबाट नेतृत्व चयन प्रक्रिया सम्पन्न गराउने जिम्मेवारी प्रदान गरिएको जनाइएको छ।
अधिवेशनमा सहभागी हुन नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केन्द्रिय प्रतिनिधिका रूपमा नेपालबाट जापान आइपुग्नुभएको छ । उहाँको उपस्थितिले अधिवेशनलाई थप महत्व र गरिमा प्रदान गर्ने अपेक्षा गरिएको छ । नेजसस जापानले अधिवेशनलाई सफल बनाउन जापानभर रहेका सम्पूर्ण नेपाली कांग्रेस समर्थक, शुभेच्छुक तथा लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।