रास्वपा सभापति रबि लामिछाने को निर्देशनात्मक सम्बोधनको पूर्ण पाठ :
मलाई सम्झना छ, पार्टी स्थापनाका सुरुका दिनहरूमा हाम्रो कुरा सुन्न आउने मानिसहरूको सङ्ख्या यति पुर्याउन पनि गाह्रो हुन्थ्यो। तर आज त्यति नै सङ्ख्यामा त हामी हाम्रा सांसदहरूसहित कार्यक्रम गरिरहेका छौँ। विश्वास त थियो, किनकि जनताको आँखाबाट कहिल्यै पनि आफ्नो आँखा टाढा पुर्याइएन। जनताको आँगनबाट कहिल्यै पनि टाढा भइएन। आकाशमा जति उडे पनि जमिनमा एउटा खुट्टा जहिले पनि रहिरहन्थ्यो। हामीले जमिन छोडेका थिएनौँ। विश्वास त थियो, तर त्यो विश्वासलाई नेपाली जनताले यति धेरै जिम्मेवारीका साथ पठाउनुहुनेछ भन्ने कुरामा चाहिँ कता कति केही न केही सोचिएको थियो।
तर थाहा चाहिँ के थियो भने— यो देश परिवर्तन चाहन्छ। मुलुकले परिवर्तन खोजेको छ र जनताले परिवर्तन चाहेपछि दुनियाँको कुनै पनि शक्तिले त्यसलाई रोक्न सक्दैन। मात्र सही समूह र सही नेतृत्व चाहिन्छ। सायद इतिहासको त्यो एउटा बिन्दुमा तपाईँ-हामी आइपुगेका छौँ। आज म धेरै केही भन्नुभन्दा पनि तपाईँहरूलाई एउटा जिम्मेवारी महसुस गराउनका निमित्त यहाँ खडा भएको छु। गर्वका साथ खडा भएको छु। गर्वका साथ हामी भन्न सक्छौँ कि— हो, नेपाली जनताले हामीमाथि इतिहासमा कसैलाई नगरेको विश्वास गरेका छन्। यस मानेमा रास्वपा परिवारको अभिभावक हुनुमा मलाई गर्व छ।
पार्टीका उपसभापतिज्यूहरू, महामन्त्रीज्यू, केन्द्रीय सदस्यज्यूहरू, नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यज्यूहरू, शुभचिन्तक, पार्टी परिवारका विभिन्न तह र तप्कामा रहनुभएका साथीहरू र सञ्चार माध्यममार्फत संसारभरि हाम्रा कुरा फैलाउनका निमित्त उपस्थित आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू!
यो अभिमुखीकरण कार्यक्रम वास्तवमा एउटा 'क्लोज क्याम्प' जस्तो हाम्रा सांसदहरूबीच गरिने कार्यक्रम भएता पनि यस सम्बोधनलाई सञ्चारकर्मी साथीहरूको माध्यमबाट संसारभर पुर्याउने निर्णय भएको छ। हुन त लुकाउनुपर्ने कुरा हाम्रो के नै छ र? पारदर्शिता राजनीतिको सबैभन्दा महत्त्वपूर्ण कडी हो। त्यही पारदर्शितामा उभिएर म तपाईँहरूलाई केही तीता-मीठा कुरा बताउन गइरहेको छु। सधैँ मीठा कुरा गर्न पनि सकिँदैन, सधैँ तीतो कुरो गरेर पनि हुँदैन। आज तीता र मीठा दुवै कुरा गरौँ। म धेरै लामो सम्बोधन गर्दिनँ।
पहिलो कुरा त, प्रशस्त पानी पिउनुहोला र कतै जाँदा लामो समयसम्म शौचालय जान नरोक्नुहोला। म चाहिँ एउटा युरिन इन्फेक्सनबाट ग्रसित भएँ। भर्खरै पानी कम पिउने र चुनावी दौडमा ट्वाइलेट जानुपर्ला भनेर रोक्ने क्रियाकलापले गर्दा मेरो स्वास्थ्यमा अलि बढी नै असर गरेको थियो। तर अब अहिले म त्यसबाट बाहिर निस्किने क्रममा छु।
चुनावी क्रममा दौडिनुभएका साथीहरूको अनुहार हेरिरहेको छु, तपाईँहरूको खटाई अनुहारले देखाएको छ। तर तपाईँहरूको अनुहार सधैँ यस्तै हुनुपर्छ— जनतासँग सधैँ भिजेको, असिन-पसिन भएको, जनतासँग सधैँ गाँसिएको। नेतृत्व र जनताको बीचमा एउटा ठुलो पर्खाल छ। कयौँ नेताहरूसँग जनता नजिक हुनै चाहँदैनन्, किनकि उनीहरूलाई यी 'आफ्नो मान्छे' हुन् भन्ने नै लाग्दैन। आज घर-घरमा नमस्कार गरेर हामी पुगेका छौँ। भोलि तिनैले गरेको नमस्कार पनि नफर्काउने ठाउँमा तपाईँ-हामी पुग्न सक्छौँ, होसियार! त्यस्तो नेतृत्व जनताले खोजेका होइनन्।
आज तपाईँहरूले खुसियाली मनाउनुभएको छ। तपाईँहरूको निधारको अबिर पनि कतिको त नुहाउँदा पनि गएको छैन। हो, त्यस्तै 'सेलिब्रेसन' नेपाली जनताले अबको पाँच वर्ष प्रत्येक दिन गर्न सक्ने गरी काम गर्नुपर्छ। तपाईँको परिवार कति खुसी हुनुभएको छ, माननीय हुनुभयो भनेर! देश-विदेशमा कत्रो उत्सव चल्यो होला। त्यस्तै उत्सव जनताले पाँच वर्ष मनाउन पाउनुपर्छ— तपाईँलाई र मलाई चुनेकोमा। त्यो हाम्रो चुनौती हो। यो पाँच वर्षलाई अन्य सामान्य चुनावहरूमा चुनिएको जस्तो सोच्नुभयो भने त्यसले अप्ठ्यारो परिस्थिति सिर्जना गर्छ।
आदरणीय साथीहरू, मलाई थाहा छ राजनीति यसै गरी चल्छ भनेर मानिसहरू पुरानै ढङ्गले दौडधुप गरिरहेको कतै देखिरहेको छु। तर राजनीति त्यसै गरी चल्नेवाला छैन। 'नथिङ'। कुनै पनि चिज हिजो जस्तो चल्नेवाला छैन। काँचुली फेर्ने हो, सर्लक्कै काँचुली फेर्ने हो। सर्लक्कै काँचुली फेर्नका लागि नै नेपाली जनताले हामीलाई त्यो अभिमत दिएका हुन्। हामी कानुन बनाउन आएका हौँ। कानुन बनाउने प्रमुख जिम्मेवारी तपाईँहरूको काँधमा नेपाली जनताले दिएका हुन्। जनतालाई थाहा नहुन सक्छ कि त्यो कानुन फेरेर उनको घरको बाटो बन्छ, धारामा पानी आउँछ, बिजुली आउँछ वा इन्टरनेट चल्छ। तर तपाईँलाई थाहा हुनुपर्छ— कुन धाराले कहाँ अड्काएको छ। यसका लागि अध्ययन गर्नुपर्ने हुन्छ। त्यसकारण, यो शक्तिको दौडधुप, यता-उता भेटघाट र फोटो खिचाउने 'पसल' बन्द गर्नुहोला साथीहरू।
म आज अलिकति तीतो कुरा गरिरहेको छु। एक 'ल मेकर' (कानुन निर्माता) का रूपमा तपाईँ-हाम्रो जिम्मेवारी अत्यन्त गहन छ। कयौँ पछिल्ला परिवर्तन र संविधान कार्यान्वयनका लागिसमेत कानुनहरू बन्न सकेका छैनन्। संविधान निर्माण भएको यति लामो समय हुँदासम्म विभिन्न बाधा-अड्चन भए। तर नेपाली जनताले अब हामीलाई कुनै बहाना बनाउन नपाउने गरी दिल खोलेर स्पष्ट बहुमत दिएका छन्। अब केको बाधा? अब केले अड्काउँछ हामीलाई? अब अड्काउने भनेको तपाईँ-हाम्रो नियतले मात्रै हो।
मेरो राजनीतिमा धेरै लामो अनुभव रहेन। तर जति समय रहेँ, सधैँ विभिन्न प्रहारहरूको सामना गर्नु पर्यो। यो पार्टी जन्मेदेखि नै यसमाथि प्रहार भयो। पार्टीको नाम र चुनाव चिन्हमा मुद्दा चल्यो। स्थापित राजनीतिक दल र विभिन्न स्वार्थ समूहबाट जोगाएर हामीले यहाँसम्म ल्यायौँ। हामीले घण्टी बचायौँ, किनकि नेपाली जनताका लागि घण्टी बचाउनु र बजाउनु पर्ने थियो। सजिलो थिएन, तर यो देशका सम्पूर्ण शक्तिहरू एक ठाउँमा उभिँदा पनि हामीले खुट्टा कमाएनौँ। हामी डराएनौँ, किनकि हामीलाई नागरिकको चेतना माथि विश्वास थियो।
नागरिकको चेतनालाई कतिपयले चुनौती दिन्छन्, तर जनताले विवेकपूर्ण ढङ्गले मतदान गरे। अघिल्लो चुनावमा हामीलाई २१ सिट दिएर जनताले के भनेका थिए भने— 'यी नयाँहरूलाई एकपटक हेरौँ, ताकि यिनीहरू नमात्तिउन् र पुरानाहरूलाई सच्चिने अवसर मिलोस्।' तर नागरिकको त्यो विवेकलाई दुई-तिहाइ पाएको सरकारले चुनौती दियो। शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी आउँछ, अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ। नत्र पुराना दललाई जनताले ३५ वर्ष कुरे, तपाईँ-हामीलाई ३६ महिना पनि कुर्नेवाला छैनन्। यो कुरामा निर्धक्क हुनुहोला।
अब तपाईँहरूको दौड स्वार्थ समूहहरूको घर-घरमा होइन। गुट बनाएर कसैलाई जितिँदैन। घण्टीमुनि सबै अटाउन सक्छन्, कतै गुट बनाउनु पर्दैन। यदि हामी 'म केन्द्रित' राजनीतिबाट माथि उठ्न सकेनौँ र 'देश केन्द्रित' राजनीति गर्न सकेनौँ भने हाम्रो हविगत पुराना दलका नेताहरूको भन्दा पनि खराब हुन्छ। त्यसकारण, आफूलाई केन्द्रमा राख्ने होइन। हिजोसम्म सहमति त हुन्थ्यो, तर नेताहरूले आफ्ना ठाउँ सुरक्षित राख्न मात्र सहमति गर्थे। तर देशलाई सुरक्षित राख्ने कुरा महत्वपूर्ण हो। यतिखेर देश केन्द्रमा छ। तपाईँ र म मन्त्री-प्रधानमन्त्री बन्ने सपनाको भारी यो देशले बोक्दैन। तर यो समाजको सपनाको भारी तपाईँ-हामीले बोक्नुपर्छ।
यहाँ सहिदकी आमा हुनुहुन्छ, ध्यान दिनुहोला। कुनै पनि बिचौलियासँग साठगाँठ गर्नुभन्दा अगाडि सहिदकी आमालाई सम्झिनुहोला। आफ्नो छोरो चढाएर उहाँ संसद् छिर्नुभएको छ, यो सामान्य कुरा होइन। देशमा बिचौलियाको बिगबिगी छ। सरकार बनेको दिनदेखि नै एउटा समूह सरकार ढाल्न सक्रिय रहन्छ। हामीलाई फुटाउने र गिराउनेहरूको बिगबिगी छ। हामी विरुद्ध पनि लाखौँ मत आएको छ। विरोधीहरूको कमी छैन। फरक यति हो कि हामी आफैँ कति बलियो छौँ। हामी मिल्न सकेनौँ र स्वार्थको बन्दी बन्यौँ भने मात्रै समस्या पर्ने हो।
विभिन्न राजनीतिक पृष्ठभूमिबाट रास्वपामा आउनुभएका साथीहरूलाई मेरो स्वागत छ। तपाईँहरूले कुनै पनि लघुताभास राख्नु पर्दैन। हृदय ठुलो पारेर हामीले तपाईँहरूलाई स्वागत गरेका छौँ। खाली यति हो कि पुरानो प्रवृत्तिबाट तपाईँ टकटकिएर आउनुपर्ने हुन्छ। किनकि देश पुरानै पाराले नचलोस् भनेर कलिला भाइबहिनीहरूले रगत बगाएका हुन्।
हामीमाथि ऐतिहासिक जिम्मेवारी छ। जथाभाबी अभिव्यक्ति दिने र यसलाई मनोरञ्जनको विषय बनाउने छुट कसैलाई छैन। तपाईँले दिने अभिव्यक्तिले वैदेशिक सम्बन्धमा के प्रभाव पार्छ, त्यो याद गर्नुपर्छ। अब तपाईँ हिजोको मान्छे होइन, जिम्मेवार सांसद हो। यदि कसैलाई अझै पनि म 'अभियन्ता' नै हुँ वा पुरानै पेसाकर्मी हुँ जस्तो लाग्छ र जिम्मेवार हुन सकिँदैन भने तपाईँ सांसदको भूमिकाबाट बाहिर जान सक्नुहुन्छ— 'यु आर मोर देन वेलकम टु लिभ'। तर अब भूमिका फेरिएको छ। जनताले मलाई जस्तै अस्पतालमा उपचार गर्दा बिना 'सोर्स-फोर्स' बेड पाउनुपर्छ भन्ने महसुस तपाईँलाई हुनुपर्छ। सक्नुहुन्छ भने सरकारी अस्पतालमा उपचार गराउनुस्। म बाध्यकारी भन्दिनँ, तर महसुस गर्नुस्।
रास्वपा स्थापना भएको धेरै भएको छैन, तर यसभित्र सिङ्गो देशको अनुहार छ। रास्वपाले आफ्नो विधानमा स्थापित गरेको 'राइट टु रिकल' (प्रत्याह्वानको अधिकार) को व्यवस्थालाई यसपटक कडाइका साथ लागु गर्नेछ। स्वतन्त्रता र अनुशासनको बीचमा एउटा पातलो रेखा छ। तपाईँ स्वतन्त्रताको सदुपयोग गर्नुहोस्, तर अनुशासित भएर। अराजकतालाई हामी कदापि स्वीकार गर्न सक्दैनौँ। म आज अलि कडा रूपमा प्रस्तुत भएको छु होला, तर जनताको आशा र अपेक्षाको जिम्मेवारी प्रत्येक दिन महसुस हुनुपर्छ।
यो देश बचाउने जिम्मेवारी हाम्रा काँधमा आएको छ। यहाँ व्यापारी, विद्यार्थी, 'जेन-जी' पुस्ता, महिला, सीमान्तकृत वर्ग, कवि, कलाकार र पूर्व प्रशासक सबै हुनुहुन्छ। यो विशाल परिवारलाई एउटै ट्रयाकमा लैजान अनुशासन चाहिन्छ। मिडियामा बोल्नुअघि पार्टी पंक्तिसँग सल्लाह गर्नुहोला। तपाईँको सानो बोलीले अर्को मानिसको चित्त नदुखोस्।
अब संसद्को सेसन चलेको समयबाहेक तपाईँहरूको भेट जनतासँग हुनुपर्छ। आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खट्नुहोला। सांसदको ब्याचले मात्रै ज्ञान दिने होइन, अध्ययनको आवश्यकता पर्छ। नागरिकसँग सधैँ नजिक रहनुहोला। हामीले नागरिकसँग करार गरेका छौँ कि यसपटक काँचुली फेरेरै छाड्नेछौँ। त्यो करारको अक्षर-अक्षर पढ्नुहोला।
तपाईँहरू मध्ये कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ। तर कृपया, 'मलाई मन्त्री बनाइदिनुस्' भनेर वा 'मिडिया ट्रायल' गरेर त्यस्तो चिज बन्द गरिदिनुहोला। पार्टीले कसलाई पठाउँछ भन्ने निर्णय भइसकेको छैन। पार्टीले विज्ञता र क्षमता हेरेर सही निर्णय गर्नेछ।
अन्त्यमा, यो निर्वाचनमा हामीले अत्यन्तै दुःख गर्यौँ। संसारको कुनै पनि देशले बिरलै पाउने अवसर हामीले प्राप्त गरेका छौँ— आफ्नो देशको इतिहास आफ्नै हातले लेख्ने अवसर। जनताले आफ्नो काम गरिसके, अब पालो हाम्रो हो। यो परिवर्तनलाई संस्थागत गरौँ। नजानेको कुरा सिक्न कहिल्यै अप्ठ्यारो नमान्नुहोला। हामी सक्छौँ र हामी गर्छौँ।
मेरो लागि विकासको सूचक भनेको सामाजिक न्याय हो। जुन समाजमा न्याय र विभेद छ, त्यो मान्छे बस्ने समाज होइन। आगामी दिनमा हामी समावेशितालाई अझ बढी प्राथमिकता दिनेछौँ। तपाईँले शक्ति आर्जन गरेर आफ्नो क्षेत्रमा मात्र बजेट सोहोर्नुभयो र कर्णाली वा मधेशलाई रुवाउनुभयो भने त्यो विकास होइन। हाम्रो ध्यान सिङ्गो देशको विकासमा हुनुपर्छ। एउटा चुनाव जित्नका लागि होइन, अर्को पुस्ताका लागि लड्ने हो।
म वर्तमान व्यवस्था र संविधानप्रति प्रतिबद्ध छु। इतिहासमा पुराना दलका नेताहरूले दिनुभएको योगदानलाई नजरअन्दाज गर्ने हक हामीलाई छैन। उहाँहरूले इतिहास लेख्नुभयो, अब भविष्य हामी बनाउँछौँ। हाम्रा समर्थक साथीहरूलाई पनि म भन्न चाहन्छु— विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, छाडा हुनु होइन। सामाजिक सञ्जालमा गालीगलौजमा नउत्रिनुहोला। यो रास्वपाले मात्र जितेको होइन, यो देशले जितेको हो।
हामी थिति बसाल्ने सङ्कल्प गर्छौँ। अन्तर्राष्ट्रिय समुदाय र निजी क्षेत्रलाई पनि म आश्वस्त पार्न चाहन्छु कि नेपाल लगानीका लागि सुरक्षित छ। मुलुक नयाँ मान्छेहरूको हातमा जाँदा कतै अप्ठ्यारो पर्ने हो कि भन्ने शङ्का नगर्नुहोला। 'वि विल ह्यान्डल इट विथ केयर'। सुशासनमा नयाँ मानक स्थापना हुनेछ।
तपाईँ-हामी सबैको जय होस्, जय देश, जय घण्टी!