दिनेश थापा । जापानमा तीजको सांगीतिक उत्सव मनाएको गलकोट समाज जापान, टोकियो क्षेत्रीय समितिले उत्सवलाई मानवीय सेवासँग जोड्दै रसुवा बाढीपीडितका लागि ५ लाख १८ हजार १११ येन सहयोग गर्ने घोषणा गरेको छ। समितिले आयोजना गरेको तीज सांगीतिक उत्सवमा दर्शकबाट स्वेच्छिक रूपमा प्राप्त ३० हजार १११ येन र टिकट बिक्रीबाट संकलित ४ लाख ८८ हजार येन गरी कुल ५ लाख १८ हजार १११ येन रसुवा बाढीपीडितको राहत तथा आवश्यक सहयोगमा खर्च गर्ने निर्णय गरेको हो।
समितिका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष ईश्वर बस्नेतका अनुसार, देशमा आएको प्राकृतिक विपत्तिले रसुवामा ठूलो जनधनको क्षति पुर्याएको र धेरै परिवार प्रभावित बनेको अवस्थामा तीज कार्यक्रमलाई केवल मनोरञ्जनमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोडिएको हो। “विपत्तिमा परेका नागरिकलाई आवश्यक पर्ने सहयोग प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले संकलित रकम प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरी राहत तथा आवश्यक सहयोगमा प्रयोग गरिनेछ,” अध्यक्ष बस्नेतले बताए।
गलकोट समाज जापानका लागि तीज नेपाली कला, संस्कृति र परम्पराको उत्सव मात्र नभई दुःखमा रहेका नेपालीहरूसँग एकाकार हुने अवसरसमेत बनेको कार्यक्रम संयोजक गोम बुढाथोकीले बताए। उनका अनुसार, कार्यक्रमको टिकट खरिद गर्ने प्रत्येक दर्शकको सहभागिता अब रसुवाका पीडित परिवारको राहतसँग जोडिएको छ। सांगीतिक कार्यक्रम हेर्न टिकट काटेका दर्शकको मनोरञ्जनसँगै उनीहरूको योगदान विपत्तिमा परेका परिवारसम्म पुग्ने उनले बताए।
समाजका सचिव चतुर्भुज सापकोटाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने दर्शक, कलाकार, सहयोगदाता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै संस्थाले ‘मनोरञ्जनसँगै मानवता र सामाजिक उत्तरदायित्व’ लाई प्राथमिकतामा राखेको बताए। तीजको सांगीतिक माहोलमा नेपाली संस्कृति र परम्पराको उत्सव मनाउनुका साथै विपत्तिमा परेका नागरिकप्रति ऐक्यबद्धताको सन्देशसमेत प्रवाह भएको समाजले जनाएको छ। रसुवा बाढीपीडितका लागि गरिएको सहयोगले प्रभावित परिवारलाई तत्काल राहत पुग्नुका साथै प्रवासमा रहेका नेपाली समुदायको मातृभूमिप्रतिको जिम्मेवारी र मानवीय भावनालाई थप मजबुत बनाउने विश्वास समाजले व्यक्त गरेको छ।
गलकोट समाज जापानले आगामी दिनमा पनि सामाजिक, मानवीय तथा परोपकारी क्षेत्रमा आफ्नो सक्रियता निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।