जापान । विदेशमा पसिना बगाउने नेपालीको योगदान रेमिट्यान्समा मात्रै सीमित राख्ने कि उनीहरूको सीप, पुँजी, अनुभव र क्षमतालाई राष्ट्र निर्माणसँग पनि जोड्ने ? यही प्रश्नलाई नीतिगत बहसको केन्द्रमा राख्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. बलराम श्रेष्ठले छुट्टै ‘एनआरएन मन्त्रालय’ गठनको प्रस्ताव अघि सार्नुभएको छ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको तेस्रो बैठकका लागि लिखित धारणा तथा सुझाव प्रस्तुत गर्दै डा. श्रेष्ठले विदेशमा रहेका नेपालीको अधिकार संरक्षण, लगानी परिचालन, सीप तथा प्रविधि हस्तान्तरण र राष्ट्रिय विकासमा उनीहरूको सहभागिता सुनिश्चित गर्न छुट्टै मन्त्रालय आवश्यक रहेको औँल्याउनुभएको हो ।
उहाँले प्रवासी नेपालीलाई केवल रेमिट्यान्स पठाउने स्रोतका रूपमा नभई लगानीकर्ता, उद्यमी, विज्ञ, प्राविधिक र राष्ट्र विकासका महत्वपूर्ण साझेदारका रूपमा स्थापित गर्नुपर्ने धारणा राख्नुभएको छ।
एनआरएन मन्त्रालयदेखि संगठन सुधारसम्म ६ बुँदे प्रस्ताव
डा. श्रेष्ठले पार्टीको केन्द्रीय समितिमा प्रस्तुत गर्नुभएको सुझावमा प्रवासी नेपालीका मुद्दासँगै पार्टी संगठन, विपद् व्यवस्थापन, सामाजिक न्याय र आगामी स्थानीय निर्वाचनका विषयलाई समेत प्राथमिकता दिनुभएको छ।
उहाँका प्रमुख ६ प्रस्ताव यस्ता छन् :
१. संगठनात्मक सुधार : नेपाली कांग्रेसलाई समयानुकूल, जनमुखी, पारदर्शी र जवाफदेही बनाउन केन्द्रदेखि वडा तहसम्म संगठन सुदृढीकरण तथा युवा र महिला नेतृत्वको विकास।
२. विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण : भोटेकोशी र बूढीगण्डकी क्षेत्रका बाढीपहिरो प्रभावित नागरिकको दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माण।
३. सुकुम्बासीको पुनःस्थापना : वास्तविक भूमिहीन तथा विस्थापित नागरिकलाई आवास, रोजगारी र सामाजिक सुरक्षाको व्यवस्था।
४. सरकारलाई रचनात्मक खबरदारी : प्रेस स्वतन्त्रता, सुशासन, भ्रष्टाचार नियन्त्रण, महँगी, रोजगारी र नागरिक अधिकारका सवालमा सरकारलाई जवाफदेही बनाउने।
५. स्थानीय निर्वाचनको पूर्वतयारी : ७५३ वटै स्थानीय तहमा संगठनको अवस्था मूल्याङ्कन गरी योग्य उम्मेदवार छनोट र स्थानीय विकासका योजना निर्माण।
६. एनआरएन मन्त्रालय गठन : विदेशमा रहेका नेपालीको श्रम, अधिकार, लगानी, ज्ञान, सीप र प्रविधिलाई व्यवस्थित रूपमा राष्ट्र विकाससँग जोड्न छुट्टै मन्त्रालय स्थापना।
७५३ स्थानीय तहमा डायस्पोरा लगानी भित्र्याउने योजना
डा. श्रेष्ठले विदेशमा रहेका नेपालीको आर्थिक पुँजीसँगै अन्तर्राष्ट्रिय अनुभव, व्यावसायिक दक्षता, आधुनिक प्रविधि र उद्यमशीलतालाई नेपालको उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ।
उहाँले देशका ७५३ वटै स्थानीय तहमा कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिजस्ता क्षेत्रमा डायस्पोरा लगानी भित्र्याउने नीतिगत व्यवस्था आवश्यक रहेको प्रस्ताव गर्नुभएको छ।
प्रवासी नेपालीले विदेशमा आर्जन गरेको पुँजी र ज्ञानलाई स्वदेशको विकासमा लगाउन सके रोजगारी सिर्जना, उत्पादन वृद्धि र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उहाँको धारणा छ।
दूतावासमा प्रवासी सहायता केन्द्रदेखि २४ घण्टे सेवा
विदेशमा रहेका नेपालीले भोग्दै आएका श्रम, तलब, भिसा, दुर्घटना, मृत्यु तथा कानुनी समस्यालाई प्रभावकारी रूपमा सम्बोधन गर्न एकीकृत सहायता प्रणाली स्थापना गर्नुपर्ने प्रस्ताव पनि डा. श्रेष्ठले अघि सार्नुभएको छ।
त्यसैगरी, विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगबाट प्रदान गरिने सेवालाई प्रभावकारी, सहज र प्रविधिमैत्री बनाउन प्रवासी नेपाली सहायता केन्द्र स्थापना, डिजिटल सेवा, अनलाइन आवेदन, गुनासो सुनुवाइ संयन्त्र तथा सेवाको नियमित मूल्याङ्कन गर्नुपर्ने सुझाव दिनुभएको छ।
आपत्कालीन अवस्थामा प्रवासी नेपालीले तत्काल सहायता पाउने गरी २४ घण्टा उपलब्ध हुने सहायता सेवा सञ्चालन गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभएको छ।
प्रवासी नेपालीको योगदानलाई केवल विप्रेषणमा सीमित नराखी उनीहरूको अधिकार, पुँजी, ज्ञान र सीपलाई राष्ट्रिय विकासको मूलधारमा जोड्ने डा. श्रेष्ठको यो प्रस्तावले कांग्रेसभित्र मात्रै नभई विदेशमा रहेका नेपालीको राजनीतिक तथा नीतिगत बहसमा समेत नयाँ विषय प्रवेश गराएको छ।