धनगढी - कैलालीको धनगढीमा सम्पन्न ‘एसपिए कैलाली प्राइड लिग’ क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधि कञ्चनपुरको पुर्नवास नगरपालिका ‘बी’ ले उचालेको छ। बिहीबार फाप्ला क्रिकेट मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक र कम स्कोरको फाइनल भिडन्तमा बाजुराको बुढीगंगा नगरपालिकालाई ६ रनको झिनो अन्तरले पराजित गर्दै पुर्नवास च्याम्पियन बनेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको पुर्नवासले १९ ओभरमा सबै विकेट गुमाउँदै ७९ रनको सामान्य योगफल तयार पारेको थियो। पुर्नवासका लागि हेमन्त धामीले विष्फोटक ब्याटिङ गर्दै १४ बलमा १९ रन जोडे भने नरेन भट्टले १५ र अशोक धामीले १४ रनको योगदान दिए। बुढीगंगाका बलर सौर्य श्रेष्ठले घातक बलिङ गर्दै ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिएका थिए।
८० रनको सामान्य लक्ष्य पछ्याएको बुढीगंगा १७.१ ओभरमा ७३ रनमै समेटिएपछि पुर्नवासको जित निश्चित भएको हो। बुढीगंगाका लागि दीपक रोकायाले २४ रनको आक्रामक इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन्। पुर्नवासका शेर मल्लले ४ ओभरमा २ मेडन राख्दै मात्र १२ रन दिएर ३ महत्वपूर्ण विकेट लिएपछि बुढीगंगाको ब्याटिङ लाइन ध्वस्त भएको थियो। उत्कृष्ट प्रदर्शनका लागि मल्ल 'प्लेयर अफ द म्याच' घोषित भए।
प्रतियोगिताको समापन समारोहमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द लगायतका अतिथिहरूले विजेता टोली र उत्कृष्ट खेलाडीहरूलाई पुरस्कृत गरे। च्याम्पियन टोलीका सचिन भट्ट 'सर्वोत्कृष्ट खेलाडी' घोषित हुँदै नगद २० हजार प्राप्त गरे। त्यस्तै, घोडाघोडीका टेक रावत 'उत्कृष्ट ब्याटर', धनगढीका सन्नी विक 'उत्कृष्ट बलर' र बुढीगंगाका मदन शाह 'उदयमान खेलाडी' चुनिए। सुदूरपश्चिमका १२ स्थानीय तहका टोलीहरू सहभागी रहेको यो प्रतियोगिता फाल्गुन २८ गतेदेखि सुरु भएको थियो।