×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

टोकियोमा ‘चाँदनी रोधी घर’, नेपाली कला, संस्कृति र स्वादको नयाँ गन्तव्य

टोकियोमा ‘चाँदनी रोधी घर’, नेपाली कला, संस्कृति र स्वादको नयाँ गन्तव्य

टोकियो । प्रवासमा नेपाली कला, संस्कृति, परम्परा र मौलिक स्वादलाई जीवन्त राख्ने उद्देश्यसहित जापानमा रहेका नेपाली युवाहरूले टोकियोको शिन्जुकुस्थित ओकुबो क्षेत्रमा ‘चाँदनी रेस्टुरेन्ट एण्ड रोधी घर’ सञ्चालनमा ल्याएका छन्। करिब ३ करोड येन को लगानीमा स्थापना गरिएको यो रोधी घरले जापानमा नेपालीपनको नयाँ पहिचान स्थापित गर्ने विश्वास लिइएको छ।

जापानमा बढ्दो नेपाली समुदायलाई आफ्नै गाउँघरको स्वाद, आत्मीय आतिथ्य, सांस्कृतिक वातावरण र मनोरञ्जन एउटै छानामुनि उपलब्ध गराउने लक्ष्यका साथ यो व्यवसाय सञ्चालनमा ल्याइएको सञ्चालकमध्येका प्रकाश श्रेष्ठले बताए। उनका अनुसार चाँदनी रोधी घर केवल व्यवसायिक परियोजना नभई प्रवासमा नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने साझा अभियान पनि हो।

रोधी घरको औपचारिक उद्घाटन समारोह जुलाई १९ देखि २६, २०२६ सम्म विशेष सांस्कृतिक कार्यक्रमका साथ आयोजना गरिएको छ । उद्घाटन सप्ताहभर प्रत्येक साँझ ४ बजेदेखि नेपाली लोकसंस्कृतिलाई झल्काउने सांगीतिक तथा सांस्कृतिक प्रस्तुति सञ्चालन भइरहेको छ।

उद्घाटन विशेष कार्यक्रममा चर्चित लोकदोहोरी गायिका काजल गुरुङ, परदेशी गायक सूर्य खड्का, गायक सवीन गुरुङलगायत कलाकारहरूले प्रत्यक्ष प्रस्तुति दिइरहेका छन्। नेपाली गीत–संगीत र सांस्कृतिक प्रस्तुतिले जापानमा रहेका नेपालीहरूलाई मनोरञ्जनसँगै आफ्नै जन्मभूमिको अनुभूति दिलाउने विश्वास आयोजकको छ।

टोकियोको व्यस्त तथा नेपालीहरूको बाक्लो बसोबास रहेको ओकुबो–शिन्जुकु क्षेत्रमा सञ्चालनमा आएको चाँदनी रोधी घरले नेपाली परिकार, पारिवारिक वातावरण, आत्मीय सेवा र नियमित सांगीतिक कार्यक्रममार्फत नेपाली समुदायको साझा भेटघाट केन्द्र बन्ने अपेक्षा गरिएको छ।

हालका वर्षहरूमा जापानमा नेपाली युवाहरूले व्यवसायिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेका बेला चाँदनी रोधी घरको स्थापना नेपाली कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय भूमिमा थप उचाइ दिने अर्को महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

उद्घाटन समारोहमा विभिन्न सामाजिक अगुवा, व्यवसायी, कलाकार, पत्रकार तथा नेपाली समुदायका शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्