×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बालेनले भने: "साँचो क्रान्ति 'क' बाट होइन, 'ज्ञ' बाट सुरु हुन्छ"

बालेनले भने: "साँचो क्रान्ति 'क' बाट होइन, 'ज्ञ' बाट सुरु हुन्छ"

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले बुद्ध जयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दै समाज परिवर्तनका लागि ज्ञानको महत्वमा जोड दिनुभएको छ। बुद्धका कालजयी उपदेशहरूलाई स्मरण गर्दै उहाँले वर्तमान समयमा ज्ञान र प्रज्ञाको उज्यालो नै सबै समस्याको समाधान भएको उल्लेख गर्नुभएको छ।

मेयर शाहले बुद्धका 'चार आर्य सत्य'—दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःख निवारणको मार्ग छ भन्ने दर्शनलाई व्याख्या गर्दै उज्यालोको अभाव नै अँध्यारो भएको बताउनुभएको छ। जब ज्ञानको किरणले जीवनमा प्रवेश पाउँछ, अज्ञानतारूपी अँध्यारो स्वतः हराएर जाने उहाँको तर्क छ। हाम्रो गन्तव्य सधैँ त्यही सत्य र ज्ञानको खोजीमा हुनुपर्ने सन्देश उहाँले दिनुभएको छ।

शान्तिका अग्रदूत बुद्धको जन्मभूमि नेपाल सधैँ अहिंसा र शान्तिको पक्षमा रहेको भन्दै उहाँले बुद्ध जयन्तीलाई केवल उत्सवको रूपमा मात्र नभई चेतनाको पर्वको रूपमा लिन आग्रह गर्नुभएको छ। विशेषगरी, क्रान्ति र परिवर्तनका कुरा गर्नेहरूका लागि उहाँले नयाँ दृष्टिकोण दिँदै भन्नुभएको छ— "साँचो क्रान्ति 'क' (कलम वा काटमार) बाट होइन 'ज्ञ' (ज्ञान) बाट सुरु हुन्छ।"

अन्त्यमा, "अप्प दीपो भवः" अर्थात् 'आफ्नो प्रकाश आफै बन' भन्ने बुद्धको अन्तिम वाणीलाई आत्मसात् गर्न आह्वान गर्दै उहाँले सम्पूर्णमा प्रज्ञामय बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँको यो सन्देशले समाजमा बौद्धिक जागरण र शान्तिको आवश्यकतालाई फेरि एकपटक उजागर गरेको छ।

प्रतिकृया दिनुहोस्