काठमाडौं-सल्यानमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । करेन्ट लागेर जिल्लाको शारदा नगरपालिका-२ डाँडागाउँ बस्ने वर्ष ४२ का प्रलाद शाहको शनिबार दिउँसो मृत्यु भएको हो ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका-१ दमाचौरमा वर्ल्डलिंकको वाईफाई लाइन विस्तार गर्न विद्युत्को पोलमा सिँढी लगाउने क्रममा करेन्ट लागेर शाह सख्त घाइते भएका थिए । शाहलाई उपचारका लागि स्थानीय दीर्घायु मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए ।
शाहलाई जिल्ला अस्पताल सल्यानले मृत घोषणा गरिसकेको उनले जानकारी गराए । उनका अनुसार शाह शारदा नगरपालिका-१ श्रीनगरस्थित वर्ल्डलिंक वाईफाई कार्यालयमा कार्यरत कर्मचारी थिए । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको उनको भनाइ छ ।
विद्युत् पोलमा करेन्ट लिक भएकै कारण करेन्ट लागेको हुनसक्ने उनको भनाइ छ । जिल्लामा यो भन्दा पहिला पनि धेरैको करेन्ट लागेर मृत्यु भइसकेको छ ।