काठमाडौं- चलचित्र ‘परस्त्री’को ट्रेलर बिहिबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । काठमाडौंको वान सिनेमाजमा आयोजित ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका कलाकार, प्राविधिक सबै पुगेका थिए भने चलचित्र असारको १५ गतेबाट रिलिज हुन लागेको हो ।
‘लभ लभ लभ’का मुख्य नायक सुरज पाण्डेको निर्देशनमा तयार भएको यो चलचित्रमा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव बिष्ट, गीत बिष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी लगायतका कलाकारको अभिनय छ ।
चलचित्रको ट्रेलरमा नायिका शिल्पा मास्के बोल्ड देखिएकी छिन् । चलचित्रमा उनी र गौरवबिचको केही अन्तरंग दृश्य समेत समावेश गरिएको छ । कोशिश क्षेत्रीको चलचित्र भित्र बदलाको चरित्र देख्न सकिन्छ ।
सफल निर्देशक दीपेन्द्र के खनालको लेखनमा तयार भएको यो फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । लेखक खनालका अनुसार, चलचित्रले नेपाली समाज भित्रकै घटनालाई प्रस्तुत गरेको छ ।
दिर्घ खड्काको सम्पादन रहेको चलचित्रमा निरज कँडेलको छायांकन छ । यो चलचित्रलाई हिन्दी भाषामा समेत रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । निर्देशक पाण्डेका अनुसार, फिल्मको छायांकनको समयमा नै हिन्दी र नेपाली भाषामा खिचिएको थियो ।