टोकियो – जापानमा रहेका एक नेपाली युवाको अनुभव समेट्दै "Happy Bandu" युट्युब च्यानलका सञ्चालक विश्वबन्धु भण्डारीले हालै जापानको हाचियोजी शहरस्थित एक पुरानो र विशाल चिहान (समाधिस्थल) बाट एउटा रोचक भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियोमा उनले त्यहाँ भेटिएका स्याङ्जाका रमाकान्त वाग्लेको भुतसँग सम्बन्धित एक डरलाग्दो तर पछि मनको भ्रम साबित भएको अनुभव प्रस्तुत गरेका छन् ।
करिब एक दशकदेखि जापानमा कार्यरत स्याङ्जा, बिरुवा गाउँपालिकाका वाग्लेले भिडियोमा आफ्नो आठ वर्ष पुरानो घटना सुनाएका छन्। उनका अनुसार, एक रात करिब साढे ११ बजे कामबाट फर्किँदा सोही विशाल चिहान क्षेत्र पार गर्नुपर्ने थियो। एक्कासी उनले चिहानभित्र दुईवटा सेता आकृतिहरू देखे, जसले उनको मुटु नै कमायो। बाल्यकालमा सुनेका भुतप्रेतका कथाहरू उनको मानसपटलमा घुम्न थाले र उनी भयभित भए। तर, डरका बाबजुद हिम्मत जुटाएर केही अगाडि बढ्दा उनले त्यहाँ एउटा गाडी पार्क गरिएको देखे।
त्यसपछि मात्र उनले ती सेता आकृतिहरू भुत नभएर गाडीमा आएका मानिसहरू भएको र सम्भवतः आफ्ना दिवंगत आफन्तजनको सम्झनामा फूल-पानी चढाउन मध्यरातमा आएको हुनसक्ने अनुमान गरे। यो यथार्थ थाहा पाएपछि उनको डर तत्काल हट्यो। आफ्नो अनुभव बाँड्दै वाग्लेले भने, "वनको बाघले खाओस् नखाओस्, मनको बाघले खान्छ भनेझैँ भयो। त्यो केवल मेरो मनको भ्रम रहेछ।" विश्वबन्धु भण्डारीले आफ्नो च्यानलमार्फत यस्ता अनुभवहरू प्रस्तुत गर्दै भुतप्रतिको विश्वास र डर धेरै हदसम्म मनोवैज्ञानिक हुनेतर्फ सङ्केत गरेका छन्। भिडियोले जापानको समाधिस्थल र त्यहाँका नेपालीहरूको अनुभवलाई पनि उजागर गरेको छ। यो घटनाले अक्सर अज्ञात र अन्धकारप्रतिको हाम्रो डरले कसरी सामान्य परिस्थितिलाई पनि भयावह बनाइदिन सक्छ भन्ने कुरालाई प्रस्ट पारेको छ।
भिडीयाेका लागी तल Click गर्नुहाेला