काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा)को अर्को महिना हुने निर्वाचनका लागि पंकजविक्रम नेम्वाङ प्यानलबाट उपाध्यक्ष पदमा दावा लामासहित ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेम्वाङ प्यानलबाट लामासहित सुन्दरनरसिंह जोशी, विराटजंज शाही, दावा लामा र दीपक खतिवडाले दर्ता गराएका हुन् ।
लामाले प्लानिङ ब्वाइज युथ क्लबका तर्फबाट हुन् भने जोशी एनआरटी क्लब, शाही काठमाडौं जिल्ला फुटबल संघ र खतिवडा धादिङ जिल्ला फुटबल संघका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
नेम्वाङ प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्का र १३ खुल्ला सदस्य पदका लागि ललितपुर जिल्ला फुटबल संघका पुरुषोत्तम थापा, भोजपुर जिल्ला फुटबल संघका प्रविण सुवाल, रौतहटका नेपाल कार्की, धनुषाका तपेश्वर राउत, काभ्रेका विकासनारायण श्रेष्ठ, जावलाखेल युथ क्लबका महेन्द्र क्षेत्री र मनाङ मर्स्याङदी क्लबका विजय घले, इलामका निरज खड्की, मोरङका दीपेन्द्र धिमाल र पर्साका अध्यक्ष मानदेव हजाराले आजै उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
सदस्य पदमा सबैले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराए पनि आज उम्मेदवारी दिने अधिकांश उम्मेदवार नेम्वाङ प्यानलका रहेको बताइएको छ । नेम्वाङ प्यानलबाट यसअघि नै बाँके जिल्ला फुटबल संघका भोजराज शाही, सुर्खेत जिल्ला फुटबल संघका रविन्द्र चन्द र कैलाली जिल्ला फुटबल संघका अनिल मल्लले सदस्यमा उम्मेदवारी दर्ता गराइसकेका थिए ।
आगामी चार वर्षे कार्यकालका लागि असार ६ गते हुने निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि प्यानलसहित उम्मेदवारी दर्ता गराइसकेका छन् । यसैगरी फ्रेन्ड्स क्लबका राजीव पौड्यालले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।