काठमाडौं- मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले विजयी सुरूआत गरेको छ। नेपालले छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा शुक्रबार कतारलाई ७९ रनले हराउँदै विजयी सुरूआत गरेको हो। नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको कतार १५.४ ओभरमा अलआउट हुँदै ३८ रनमा समेटियो। कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले १४-१४ रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कतारलाई सस्तैमा समेट्न नेपालकी सृष्टि जैशीले ३ विकेट लिइन्। यस्तै अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले समान २-२ विकेट लिए। त्यसअघि यूकेएम ओभल मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो।
नेपालका लागि आश्मा पुलामी मगरले अविजित रहदै ३२ रन बनाइन्। यस्तै सृष्टि जैशीले अविजित २३ रन जोडिन्। त्यसअघि सानु राजवंशीले २१, अन्जली विश्वकर्माले ११ र किरण कुमारी कुँवरले १ रन जोडेर आउट भए। कतारका लागि साची ढड्वाल र अलिना खानले १-१ विकेट लिए।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार छन्। शीर्ष टोलीले दक्षिण अफ्रीकामा हुने युवा विश्वकप खेल्न पाउनेछ। आजै भएको अर्को खेलमा थाइल्याण्डले मलेसियालाई ८५ रनले पराजित गरेको छ।
प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेलमा भोलि युएईविरूद्ध खेल्नेछ।