×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘फेरि लकडाउन हुनसक्छ, कहिलेबाट भन्न सकिन्न’

‘फेरि लकडाउन हुनसक्छ, कहिलेबाट भन्न सकिन्न’

सरकारले बिहीबार (भोलि) बाट काठमाडौं उपत्यकामा राति ८ बजेबाट सवारीसाधन चल्न नदिने निर्णय गरेको छ । पछिल्लो २/३ हप्तायता कोभिड महामारी बढ्दै गएकाले त्यसलाई रोक्न कडाइ गर्ने निष्कर्षसहित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले राति ८ बजेपछि गाडी मोटरसाइकललगायत चल्न नदिने निर्णय गरेको हो ।

अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्च्यूअल रुपमा मात्रै गर्ने निर्णय गरेको स्थानीय प्रशासनले यसपालि राति ८ बजेबाट सार्वजनिक तथा निजी सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेपछि यसको चौतर्फी आलोचना र व्यङ्ग्य पनि भइरहेको छ । यस्तै अब लडकाउन हुने हो कि भन्ने आशंका पनि बढेको छ ।

उपत्यकामा पुनः लकडाउन हुँदैछ ?

पछिल्लो केही हप्तायता काठमाडौं उपत्यकामा दिनहुँ ३ हजारभन्दा बढी ५ हजारको हाराहारीसम्म संक्रमितसमेत फेला पर्न थालेका छन् । यसैबीच पुनः लकडाउन हुने हो कि भन्ने आशंका र चर्चा हुने गरेको छ । के उपत्यकामा पुनः लकडाउन हुँदैछ ? भन्ने प्रश्नमा ललितपुरका प्रमुख जिल्ला अधिकार (प्रजिअ) ढुण्डीराज निरौला भन्छन्, ‘महामारीको बेला छ, हुँदैन नै भन्न त सकिन्न । तर, यही मितिबाट हुन्छ भन्ने पनि छैन ।’

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनअनुसार मात्रै आफूहरु चल्ने प्रजिअ निरौला बताउँछन् । ‘हाम्रो खुसीले मात्रै हुनेवाला पनि केही छैन,’ प्रजिअ निरौलो भने, ‘सीसीएमसीले सिफारिस गरेपछि मात्रै हामी अगाडि बढ्ने हो । हामी आफैंले निर्णय गर्दैनौँ’ उनले मकालुखबरसँग भनेका छन् ।

८ बजेपछि सवारीसाधनमा रोक किन ?

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई भन्छन्, ‘कोरोना संक्रमणदर उपत्यकामा बढिरहेको छ । त्यसलाई थप फैलिन नदिने ध्येयका साथ यसो गरिएको । कमसेकम धेरै समय चल्न दिइएन भने पनि सरकारलाई सहयोग पुग्छ भनेर यसो गरिएको हो ।’

साँझ परेपछि मानिस झनै निस्फिक्री रूपमा घुम्ने गरेकाले पनि यस्तो निर्णय गरेको उनले बताए । ‘साँझ परेपछि मान्छेहरु यत्तिकै पनि घुमिरहेका हुन्छन् भनेर रिपोर्टिङ्ग भएको छ,’ प्रजिअ भट्टराईले मकालुखबरसँग भने, ‘यस्ता गतिविधिले झनै संक्रमणलाई बढावा दिने हुन्छ, यस्ता गतिविधिलाई नियन्त्रण गर्न पनि यसो गरिएको हो ।

८ बजेभन्दा अगाडि नै निवासमा पसिसक्न नागरिकलाई आग्रह गरिएको पनि प्रजिअ भट्टराईले बताए । ‘हामीले त्यो आग्रह पनि गरिसकेका छौँ,’ प्रजिअ भट्टराईले भने, ‘अब महामारीलाई ध्यान दिएर हामीले स्वयम्ले आफ्नो बानी सुधार्नुपर्ने भएको छ । त्यो आफ्नो लागि मात्रै नभएर सबैका लागि फाइदाजनक हुन्छ ।’

सरकार आफैंले मात्रै महामारी नियन्त्रण गर्न नसक्ने प्रजिअ भट्टराईको तर्क छ, भन्छन्- ‘सरकारले मात्रै यसो सचेत गराउने हो, यसो गर्नुस्, उसो गर्नुस् भन्ने हो । अपनाउने आफैंले हो, मान्ने आफैंले हो ।’

प्रतिकृया दिनुहोस्