काठमाडौँ- चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा शनिबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा भैरहवा ग्लाडियटर्स र काठमाडौँ किङ्ग्स-११ बिच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल साढे ९ बजे सुरु हुने तय भए पनि अहिलेसम्म सुरु भएको छैन ।
शरद भेषवाकर कप्तान रहेको भैरहवा दोस्रो जित निकाल्दै प्ले अफमा स्थान सुरक्षित गर्ने योजनामा हुनेछ । भैरहवा ३ खेलमा ४ अं कका साथ दोस्रो स्थानमा छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ पनि दोस्रो जित निकाल्दै प्ले अफको सम्भावनालाई कायम राख्न चाहन्छ । काठमाडौँ २ खेलमा २ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ ।
यस्तै दिउँसो साढे १ बजे सुरु हुने तय भएको दोस्रो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोजले एक अर्काको सामना गर्नेछन् । करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जित निकाल्ने प्रयासमा हुनेछ । उसले यसअघिका तीनै खेलमा पराजय बेहोरेको छ । विनोद भण्डारीको कप्तानीमा मैदान उत्रिने पोखरा दोस्रो जित निकाल्दै प्ले अफको यात्रा सहज बनाउने सोचमा छ । पोखरा ३ खेलमा ३ अङ्क जोडेर चौथो स्थानमा छ ।