काठमाडौँ- वेस्टइन्डिजमा २६ अगस्टदेखि क्यारेबियन प्रमियर लिग क्रिकेट (सीपीएल) शुरु हुँदैछ । यो लिगमा क्रिकेटमा एउटा नौलो प्रयोग हुँदैछ । यदि यो प्रयोग सफल भएमा आगामी दिनमा क्रिकेटलाई हेर्ने दृष्टिकोण नै फरक हुने दाबी गरिएको छ ।
यो प्रयोग भनेको एक नयाँ बलको प्रयोग हो । जुन बललाई ‘स्मार्ट बल’को नाम दिइएको छ । कुनै पनि व्यवसायिक लिगमा पहिलो पटक यो बलको प्रयोग गर्न लागिएको हो ।
के हो स्मार्ट बल ?
अस्ट्रेलियाको बल निर्माता कम्पनी कूकाबुराले टेक इनोभेटर्स स्पोर्टसकोरसँगको सहकार्यमा स्मार्ट बल तयार गरेको हो । यो विश्वको पहिलो यस्तो बल हो‚ जसभित्र माइक्रोचिप जडान गरिएको हुन्छ । सेन्सरवाला यो चिपले रियल-टाइममा बलको स्पीड, स्पिन, पावरको बारेमा जानकारी एकत्रित गर्छ ।
यो जानकारी विशेष गरी बनाइएको एप्लिकेसनको माध्यमबाट स्मार्टवाच, मोबाइल, ट्याबलोइट, कम्प्युटर, ल्यापटप आदिमा हेर्न सकिन्छ । कम्पनीका अनुसार रियल टाइममा मिल्ने जानकारीले प्रशिक्षक, खेल तथा यसका अफिसियलहरूमा ‘क्रान्तिकारी परिवर्तनहरू’ ल्याउनेछ । साथै यसले खेलको अनुभव नै पूरै फरक पार्ने दाबी गरिएको छ ।
स्मार्ट बलले कसरी काम गर्छ ?
बल-जब बलरको हातबाट ‘रिलिज’ हुन्छ, अर्थात बलरले जब बलिङ् गर्न बल हातबाट फाल्छन्‚ लगत्त्तै बलभित्र लगाएको सेन्सर सक्रिय हुन्छ । जसले बलको स्पीड, स्पीन र पावरको अलग-अलग तरिकाले ग्रहण गर्दै तत्काल त्यसको जानकारी दिन्छ । बलरको हातबाट बल रिलिज हुँदा स्पीडको तथ्याङ्क दिन्छ भने बल बाउन्स हुनुअघि ‘प्रि-बाउन्स’ स्पीड तथा बाउन्स भएपछि ‘पोस्ट-बाउन्स’ स्पीडको डेटा पनि लिन मिल्नेछ ।
बलरले बल रिलिज गर्दा कति शक्ति लागेको थियो भन्ने डेटा पनि चिप्सले जानकारी दिन्छ । बल रिलिज भएको केवल पाँच सेकेन्डमा यसले डेटा उपलब्ध गराउनेछ । यसलाई कम्पनीले ‘फर द फर्स्ट टाइम, द बल विल टक’अर्थात् ‘पहिलो पटक बल बोल्नेछ ।’ स्लोगन दिएको छ ।
के भन्छन् निर्माणकर्ता ?
यो बलको निर्माण गर्ने इनोभेटर्स स्पोर्टसकोरका अध्यक्ष तथा अस्ट्रेलियाका पूर्वतीव्र गतिका बलर माइकल कास्प्रोविज हुन् । कास्प्रोविज स्मार्ट बलको निर्माणलाई क्रान्ति मान्छन् । उनी भन्छन् ‘यो एक’ हाई पर्फमेन्स टूल’ होइन‚ तर यो बलको प्रयोगले खेलप्रेमी तथा दर्शकले आफूलाई थप नजिक भएको महसुस गर्नेछन् । अर्थात् उनीहरूले बलको धड्कन महसुस गर्नेछन् ।’
कम्पनीका अनुसार स्मार्ट बल अन्य बलजस्तै हो । यसको तौल आम ‘कुकाबुरा’ बलको जति नै हुन्छ । यसले अन्य बलको जस्तै व्यवहार गर्छ । अर्थात् खेलमा कुनै फरक पार्दैन । बलको आकार तथा फीलमा कुनै फरक पर्दैन फरक बलभित्र मात्रै हुन्छ ।
अन्तरराष्ट्रिय खेलमा प्रयोग कहिले होला ?
कम्पनीका अनुसार यो बलको पर्याप्त परीक्षण नभएकाले तत्काल अन्तरराष्ट्रिय खेलमा प्रयोग हुने सम्भावना भने कम छ ।
यद्यपि कम्पनीले आगामी वर्षसम्ममा बललाई अन्तरराष्ट्रिय क्रिकेट खेलमा प्रयोगमा ल्याउनेगरी आईसीसी र सदस्य देशको बोर्डलाई प्रस्ताव गर्ने जनाएको छ । कम्पनीले सीपीएलपछि अन्य मुख्य टी-२० फ्रेन्चाईजहरूमा समेत यो बलको प्रयोगको योजना बनाइरहेको छ । यदि यो प्रयोग सफल भएमा रातो, सेतो र गुलाबीपछि स्मार्टबलको युग शुरु हुनेछ ।
-एजेन्सीहरुको सहयोगमा