काठमाडाैँ - आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको रौनक एकाएक बढ्न थालेको छ । उम्मेदवारहरुको दर्ता प्रक्रियाको काम सकिएसगैँ उम्मेदवारहरु आ-आफ्नो चुनावी क्षेत्रमा पुगेर घरदैलो कार्यक्रम गर्न थालिसकेका छन् । निर्वाचन आयोगमा दर्ता भएका ११६ वटा दलहरु मध्ये ५७ वटा दलहरुले मात्रै प्रतिनिधी सभाको पहिलो हुनेले जित्ने (प्रत्यक्ष) निर्वाचनका लागि आफ्ना उम्मेदवारहरुको उम्मेदवारी दर्ता गरेका छन् भने अधिकांश स्थानमा स्वतन्त्र उम्मेद्धारी पनि परेको छ ।
प्रतिनिधी सभाको प्रत्यक्ष तर्फको चुनावमा ५७ दल सहभागी भएको मध्ये १८ वटा दलका अध्यक्षहरुले बिभिन्न क्षेत्रमा चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराएका छन् भने १६ पार्टी अध्यक्षहरुले समानुपातिक सुचिमा आफ्नो नाम समावेश गरेका छन् । अर्को रोचक कुरा त के छ भने ४ पार्टी अध्यक्षहरु भने एउटै निर्वाचन क्षेत्रमा प्रतिस्प्रर्धा गर्दैछन् ।
२०४८ सालदेखि प्रत्येक निर्वाचनमा चुनाव लड्दै आएका प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा सातौँ पटक डडेल्धुरावाट चुनाव लड्दैछन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ वाट यसपाली पनि चुनावी मैदानमा उत्रिएका छन् । प्रत्येक निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गर्दै चुनाव लड्न खप्पिस सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने यसपाली चितवन छोडेर एकाएक गोरखा २ मा चुनाव लड्न पुगेका छन् । कहिले रौतहट त कहिले काठमाडौँवाट नेकपा एमालेवाट चुनाव लड्दै आएका नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने यसपाली ए.समाजवादीवाट सत्तारुढ गठबन्धनको सहयोगमा राैतहट १ वाट निर्वाचनमा भिड्दैछन् ।
सत्तारुढ गठबन्धन छोडेर एकाएक एमालेसगँ तालमेल गर्न पुगेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ वाट चुनाव लड्दैछन् भने त्यसै क्षेत्रमा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत पनि भिड्दैछन् भने रातारात सत्तारुढ गठबन्धनमा जोडिन आईपुगेका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ वाट चुनावमा प्रतिस्पर्धा गर्दैछन् । सत्तारुढ गठबन्धनको अर्को दल जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले बाग्लुङ १ मा उम्मेदवारी दिएका छन् भने सत्तारुढ गठबन्धनकै नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव माओवादी केन्द्रको चुनाव चिञ्हवाट सर्लाही २ वाट निर्वाचनमा लड्दैछन् ।
बिभिन्न क्षेत्रमा आफ्ना उम्मेदवारहरुलाई प्रतिस्प्रर्धामा उतारेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन,राप्रपा नेपालका अध्यक्ष कमल थापा र जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदेश त्रिपाठी एमालेको समर्थनमा क्रमश झापा ३,मकवानपुर १ र नवलपरासी (सुस्ता पश्चिम) २ वाट चुनावी मैदानमा उत्रिएका छन् । यसैगरि पत्रकारिता छोडेर राजनितीमा छिरेका चर्चित अनुहार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने चितवन २ र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली १ वाट प्रत्यक्ष चुनाव लड्दैछिन् ।
अर्को रोचक प्रसगं त के छ भने ४ पार्टी अध्यक्षहरु एउटै निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्प्रर्धामा छन् । पुर्व डिआईजी समेत रहेका नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल,नेश्नालिष्ट पिपल्स पार्टीका अध्यक्ष ईन्द्र बहादुर थापा, अधिवत्ता समेत रहेका नेपालका लागि नेपाली पार्टीका अध्यक्ष बालकृष्ण न्यौपाने र नेपालवाद पार्टीका अध्यक्ष किरण कुमार शर्मा पौडेल काठमाडौकै मुटु मानिएको काठमाडौँ क्षेत्र नम्बर १ वाट चुनाव लड्दैछन् ।
यता समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत १६ पार्टीका पार्टी अध्यक्षहरु समानुपातिकको सुचिमा परेका छन् । क्रिश्चियनहरुको दल नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल नेकपा एमालेको समानुपातिक सुचिको खस आर्य पुरुष समुहको २ नम्बरमा परेका छन् भने क्रिश्चियनहरुकै अर्को दल आमुल परिवर्तन मसिहा पार्टीका अध्यक्ष भरत गिरी उत्त पार्टीकै समानुपातिक सुचिको १ नम्बरमै परेका छन् ।
निर्वाचन आयोगमा दर्ता गरि आगामी निर्वाचनका लागि समानुपातिक सुचि बुझाएका अन्य दलहरु पिछडावर्ग निषाद दलित जनताती पार्टीका अध्यक्ष प्रितम मुखिया, नेपाल आमा पार्टीका अध्यक्ष रोमलाल गिरी, नेपाल लोकतान्त्रीक पार्टीका अध्यक्ष भानुराम डगौरा थारु,लौरो अभियान तथा हाम्रो नेपाली पार्टीका अध्यक्ष ई.अनन्तराज घिमीरे,जनजागरण पार्टी नेपालका अध्यक्ष बिष्णु प्रसाद खनाल समानुपातिक सुचिमा परेका छन् । यसैगरि नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्की, नेपाल दलित पार्टी अध्यक्ष मेघ वहादुर कामी,जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवाशचन्द्र काफ्ले,नेपाल संघिय समाजवादी पार्टी अध्यक्ष मुहमद रिजवान,नेपाल समावेशी पार्टीका अध्यक्ष मोतिलाल भारती,राष्ट्रिय मुक्ति आन्दोलन,नेपालका अध्यक्ष जयवन्त बिक्रम शाह,राष्ट्रिय नागरिक पार्टी अध्यक्ष शुक्र बहादुर गुरुङ,मितेरी पार्टी नेपालका अध्यक्ष धनेन्द्र बहादुर बस्नेत,मौलिक जरोकिलो पार्टीका अध्यक्ष सुशिल गौतम र नेपाली कांग्रेस बिपी का सभापति शुसिलमान शेरचन पनि समानुपातिक सुचिमा परेका छन् ।