×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वासिमको शतकमा अन्तिम खेलमा पीएनजीको हार

वासिमको शतकमा अन्तिम खेलमा पीएनजीको हार

काठमाडौं-पपुवा न्युगिनी(पीएनजी)ले आईसीसी विश्वकप लिग टू सिरिज हारका साथ समाप्त गरेको छ ।

यस सिरिजको आफ्नो अन्तिम खेलमा पीएनजी युएईसँग ६ विकेटले पराजित भएको हो । 

टियु क्रिकेट मैदानमा पीएनजीले दिएको २ सय ३५ रनको लक्ष्य युएईले ३८ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।

युएईको जितमा ओपनर तथा कप्तान मुहम्मद वासिमले ७६ बलमा १ सय १९ रनको शतकीय ईनिङ खेले । ६१ बलमा शतक पूरा गरेका वासिमले ७६ बलमा १२ छक्का र ६ चौका प्रहार गरेका थिए । 

लिग टूमा एकै ईनिङमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान समेत वासिमले आफ्नो नाम गरेका छन् । यस अघि नामिबियाका उपकप्तान जेजे स्मिथको नाममा यो कीर्तिमान रहेको थियो । 

एसोसिएट राष्ट्रको तर्फबाट एकै ईनिङमा सर्वाधिक छक्का प्रहार गर्नेमा वासिम दोस्रो स्थानमा उक्लिएका छन् । उनी भन्दा अघि रहेका अमेरिकाका जसकरण मल्होत्राले एकै ईनिङमा १६ छक्का प्रहार गरेका थिए । 

मल्होत्राले ९ सेप्टेम्बर २०२१ मा यो कीर्तिमान बनाएका थिए । 

वृत्य अरबिन्दले ३३ रन बनाउँदा सीपी रिजवानले अविजित २९ रन बनाए । आयान खान २७ रनमा आउट भए ।

पीएनजीका लागि राईली हेरुकेले २ तथा कबुअ मारिया र जोहन कारिकोले समान १/१ विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनाएको हो । 

पीएनजीका लागि कप्तान असद भालाले ९२ बलमा ६५ रन बनाए । भालाले ६ चौका र १ छक्का प्रहार गरेका थिए । 

नर्मन भानुवाले अविजित ४९ रन बनाउँदा चाल्र्स अमिनीले ४४ बलमा २२ रन बनाए । किप्लिन डोरिगाले ६० बलमा २४ रन बनाए ।

गौडी टोकाले १५ रन बनाउँदा राईली हेरुकेले अविजित ३३ रन बनाए ।

युएईका लागि हर्जत बिलालले ४ तथा जावर फरिद र रोहन मुस्ताफाले समान १/१ विकेट लिए । 

जितसँगै युएईले ३५ खेलमा १५ मा जित १७ मा हार व्यहोरेको छ । युएई ३३ अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।

पीएनजीले ३६ खेलमा ५ मा जित ३० मा हार व्यहोरेको छ । पीएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ।

प्रतिकृया दिनुहोस्