काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखका लागि अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ।
सोमबार बिहान बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताको बैठकले साउन ३० र ३१ गते प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए।
कांग्रेसले स्थानीय निर्वाचनमा ३२९ प्रमुख र ३ सय उपप्रमुख जितेको छ। उनीहरूलाई काठमाडौं बोलाएर स्थानीय सरकार सञ्चालनका सन्दर्भमा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो।
छलफलमा कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई गठबन्धनमा ल्याउनुपर्ने प्रस्ताव गरेका छन्। हालै भारत भ्रमणबाट फर्केका निधिले सो प्रस्ताव राखेका हुन्।
पाँच दलीय गठबन्धनका साथै सकारमा जानका लागि पनि लोसपा तयार रहेको छ। तर गठबन्धनमा रहेका दलहरूको बीचमा कुरा नमिलेको कारण त्यो सफल हुन सकिरहेको छैन। हिजो मात्रै लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा छलफल गरेका थिए।
प्रधानमन्त्री देउवाले आफू लोसपालाई सरकार तथा गठबन्धनमा ल्याउन तयार रहेको तर यो विषय गठबन्धनबाट निर्णय हुनुपर्ने बताएका छन्। सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्नुअघि कांग्रेसले सोमबार विहान पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक राखेको थियो। बैठकमा नेताहरुले अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार जित्ने गरी तालमेल गर्नुपर्नेमा जोड दिएका छन्।
कसले कति सिट पायो भन्दा पनि गठबन्धनका उम्मेदवारलाई कसरी विजय गराउने भन्नेमा ध्यान दिनुपर्नेमा नेताहरूको एक मत रहेको नेताहरूले बताएका छन्। नेताहरुले भने २०७४ को चुनाव र वैशाख २०७९ मा भएको स्थानीय चुनावलाई आधार बनाएर सिट बाँडफाँट गर्नुपर्ने धारणा राखेका थिए।