कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै त्यसलाई सच्याएपछि मात्रै शपथ ग्रहण गर्ने अडान लिएका छन् ।
राष्ट्रपतिको कार्यालयले संविधानको धारा उल्लेख नगरी नियुक्ति दिएकाले त्यसलाई संविधानको धारा ७६ (५) बमोजिम उल्लेख गरेर नियुक्ति सच्याएपछि मात्रै सभापति देउवाले शपथ लिने भएका हुन् । साँझ ६ बजे हुने भनिएको शपथका लागि देउवा शितलनिवास पुगिसकेका छन् ।
पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, डा बाबुराम भट्टराईलगायत पनि शितलनिवास पुगेका छन् । गठबन्धनका अन्य नेताहरू पनि छन् । तर, नियुक्ति सच्याएपछि मात्रै शपथ लिने तयारी रहेको स्रोतले बतायो ।
देउवाले आफूले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीका लागि दाबी पेश गरेको र त्यही आधारमा सर्वोच्च अदालतले आफूलाई प्रधानमन्त्री नियुक्त गर्न निर्देशन गरेकाले सो उल्लेख गरेर नियुक्तिको व्यवस्था गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री देउवासँगै कांग्रेसका तर्फबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की तथा नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुषाललाई मन्त्रीको शपथ गराउने तयारी छ ।
कांग्रेसका प्रमुख सचेतक खाँणले गृहमन्त्रीको जिम्मेवारी पाउने भएका छन् । यस्तै, कार्कीले कानुन, न्याय तथा संसदीय मामिला दिने तयारी छ । शर्मालाई अर्थ मन्त्रालय र भुषाललाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको स्रोतले जनाएको छ ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ ग्रहण अझै सुरु हुन सकेको छैन । बेलुका ६ बजे हुने तय भएको भनिएको शपथका लागि तोकिएको समयभन्दा निकै ढिलो मात्र शितल निवास पुगेका देउवाको शपथ ग्रहण कार्यक्रम अझै शुरु हुन नसकेको हो ।
शपथ ग्रहण शुरु नहुनुको कारण पुष्टि भई नसकेपनि कांग्रेसनिकट स्रोतका अनुसार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा कुन धाराअनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको हो भन्ने उल्लेख नभएकाले देउवाले शपथ लिन नमानेका हुन् ।
यसबारेमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच शितल निवासमै छलफल गरेका छन् ।
बन्न लागेका मन्त्रीहरूसहित शितल निवासमा उपराष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरूलगायत पुगिसकेका छन् ।