×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महरा प्रकरणकी रोशनी आफ्नै कोठामा मृत फेला, आत्महत्याको आशंका

महरा प्रकरणकी रोशनी आफ्नै कोठामा मृत फेला, आत्महत्याको आशंका

काठमाडौं - तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएर चर्चामा आएकी संसद सचिवालयकी पूर्व कर्मचारी रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन्। उनी भक्तपुरको बालकोटस्थित आफ्नै कोठामा मृत भेटिएकी हुन्।

कोठा भित्रबाट चुकुल लगाएको अवस्थामा उनी केही बेरअघि मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले ढोका फोरेर हेर्दा उनी मृत अवस्थामा थिइन्।

प्रहरीका अनुसार, उनी घोप्टो परेको अवस्थामा फेला परेकी र उनको छेउमा विषको बट्टा पनि भेटिएको छ। यसले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ।


उनका श्रीमान चित्रजंग शाही काम विशेषले विराटनगर पुगेका थिए र उनी काठमाडौं फर्किंदै गरेको बताइएको छ।


स्मरण रहोस्, २०७६ असोजमा शाहीले तत्कालीन सभामुख महरामाथि बलात्कार प्रयासको आरोप लगाएपछि नेपाली राजनीतिमा ठूलो तरंग पैदा भएको थियो। महराले मादक पदार्थ सेवन गरी आफ्नो कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो।


जाजरकोटकी शाहीको आरोपपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए र पछि पक्राउ परी डिल्लीबजार कारागार चलान भएका थिए। तर, पछि जिल्ला अदालत काठमाडौंमा उनले बयान फेर्दै महरा निर्दोष रहेको बताएकी थिइन्, जसका कारण महराले सफाइ पाएका थिए।


उनका एक छोरा र एक छोरी अमेरिकामा बस्दै आएका छन्। शाही दम्पती केही समयअघि मात्र अमेरिकामा रहेका आफ्ना सन्तानलाई भेटेर नेपाल फर्किएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्