काठमाडौं - घरेलु टोली थाइल्याण्डले आइसिसी महिला टि२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ। फाइनलमा नेपाललाई ७८ रनको फराकिलो अन्तरले हराउँदै थाइल्याण्ड च्याम्पियन बनेको हो। यद्यपि, नेपाल र थाइल्याण्ड दुवै ग्लोबल क्वालिफायरका लागि छनोट भइसकेका छन्।
थाइल्याण्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो। नेपालका लागि कविता कुँवरले सर्वाधिक २४ रन जोडिन् भने अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। थाइल्याण्डकी ओनिचा कामछोम्पुले ४ तथा थिपाट्चा पुथाओङले ३ विकेट लिइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले नाताया बुचाथाम (५०) र नानापात कोन्चरोएन्काइ (५०*) को अर्धशतक मद्दतमा २० ओभरमा २ विकेट गुमाउँदै १५८ रन बनाएको थियो।