काठमाडौं- भारत, उत्तर प्रदेशको आगरा सहरको कृष्ण बाग क्षेत्रमा बस्ने राहुलको बिहीबार (८ डिसेम्बर) मा विवाह तय भएको थियो । बाजागाजा बजाएर जन्ती निकाल्ने तयारी हुँदै थियो ।
त्यहाँ निकै खुसीको वातावरण थियो । त्यसपछि अचानक प्रहरी बेहुलाको घरमा पुग्यो र उनलाई बेहुलीको घर नभई चौकी लिएर गयो । प्रहरीले केही घण्टापछि उनलाई अदालतमा हाजिर गरेर त्यसपछि जेल पठायो ।
जानकारी अनुसार नयाँ आगरा क्षेत्रकी एक युवतीले बुधबार (७ डिसेम्बर)मा प्रहरीमा उजुरी दिएकी थिइन् । कृष्णबाग निवासी राहुल तीन वर्षअघि घर नजिकै बस्न आएको उनले बताएकी छन् ।
त्यसपछि उनी निजी कम्पनीको विक्रेताको रुपमा काम गर्थे । पहिलो पटक केटीको घरमा बिक्रीको योजना बुझाउन पुगेका थिए । त्यसपछि दुवैको चिनजान बढ्यो, भेट भयो अनि त्यसपछि प्रेम भयो ।
युवतीका अनुसार राहुलले उनीसँग बिहे गर्ने वाचा गरेका थिए । जसकारण उनी पनि राहुलसँग घुम्न जान थालिन् । युवती भन्छिन्, ‘राहुलसँग बिहेको कुरा गर्दा उनी हिचकिचाउँथे ।’ हालै उनले बिहे गर्न अस्वीकार गरेका थिए ।
पीडित युवतीका अनुसार राहुलका परिवारलाई पनि उनीहरुको सम्बन्धबारे थाहा थियो । यति हुँदाहुँदै पनि उनीहरु विवाहका लागि तयार भएनन् । आठ दिनअघि आरोपी राहुलसँग आफू दिल्ली गएको कुरा पनि युवतीले प्रहरीलाई बताइन् । तर, राहुलले विवाह तय भएको बारे उनलाई केही बताएनन् ।
बुधबार डिसेम्बर ७ मा पीडित युवतीलाई राहुलको विवाह हुन लागेको थाहा भयो । उनी शुक्रबार (डिसेम्बर ९) मा जन्ती लिएर उनी मथुरा जाँदै थिए । त्यसपछि पीडित महिला प्रहरीमा पुगिन् । तीन वर्षको अवधिमा राहुलले आफूसँग विवाहको आश्वासन दिएर शारीरिक दुव्र्यवहार गरेको उनको आरोप छ ।
न्यू आगरा प्रहरी चौकीले राहुलविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेको छ । त्यसपछि उनलाई पक्राउ गरिएको हो । प्रहरी चौकी न्यू आगराका प्रहरी निरीक्षक विजय विक्रम सिंहका अनुसार राहुललाई अदालतले जेल पठाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।